| सोमवार, कार्तिक २३, २०८३

बाल केन्द्रीत प्रभावकारी शिक्षण तालिम सम्पन्न

गोरखाको वारपाक सुलीकोट गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १२ जना शिक्षकहरुलाई वाल केन्द्रीत प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ ।

जापान सरकार परराष्टू मन्त्रालय(मोफा)को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपालले उनीहरुलाई तालिम दिएको हो । उक्त तालिममा शैलापुत्री माध्यमिक विद्यालय, थलीवारी आधारभूत विद्यालय, वागेश्वरी आधारभुत विद्यालय र मण्डली आधारभुत विद्यालयवाट सहभागिता रहेको थियो ।

३ दिनसम्म संचालन भएको उक्त तालिमलाई श्रोत व्यक्ति दुर्गाप्रसाद पाण्डे र सोनी तामाङले सहजीकरण गरेका थिए । तालिममा प्रभावकारी बाल केन्द्रीत शिक्षण विधिहरु, प्रभावकारी शिक्षण विधिहरु, रचनात्मक सिकाई, गणित विषय पढाउन, प्रस्तुतीकरण सीप, परिचय कला, शिक्षण सामग्रीको निर्माण तथा मुल्याङ्कनका बारेमा जानकारी दिइएको थियो ।

एकीकरण नेपाल गोरखाले उक्त विद्यालयमा शिक्षण सिकाई र वालवालिकाको पढाईलाई लक्षित गरी शैक्षिक गतिविधिहरु सचालन साथै मण्डली आधारभुत विद्यालयको भवन निर्माण गरिरहेको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विष्णुप्रसाद भट्टराईले भुकम्पपछि गोरखाको विद्यालय भवन निर्माण अत्यन्तै राम्रो भएता पनि शिक्षण सिकाई सम्वन्धि गतिविधि नहुँदा शिक्षाको गुणस्तरको विकास नभएको अवस्थामा यस्तो खालको तालिमले ठुलो मद्दत मिल्ने बताए ।

एकीकरण नेपाल गोरखाको सल्लाहकार स्थानेश्वर दुवाडीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा संस्थाका सचिव दुर्गा गुरुङ, श्रोतव्यक्ति सोनी तामाङ, चाइल्ड फण्ड जापानको एरिया व्यवस्थापक आयरी होण्डा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्