
गोरखा सदरमुकाममा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा
जेष्ठ नागरिकहरुलाई लक्षित गरेर गोरखा सदरमुकाममा जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालनमा आएको छ । गोरखा नगरपालिकाका वडा नं ६ स्थित रानीपोखरीमा मेयर कृष्णबहादुर रानाले उद्घाटन गरेसँगै दिवा सेवाकेन्द्र संचालनमा आएको हो ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखा आयोजनामा भएको कार्यक्रममा मेयर रानाले नगर भित्रका जेष्ठ नागरिकहरुको दैनिकीलाई सहज बनाउन र उनीहरुको व्यवस्थापन गर्नका लागि नगरपालिका पनि विभिन्न कार्यक्रमहरु संचालन गर्ने तयारीमा रहेको बताए ।
आइतबारदेखि जेष्ठ नागरिक दिवा सेवाकेन्द्र संचालन आएको संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । सेवाकेन्द्रमा जेष्ठ नागरिकहरु जम्मा भएर भजन कीर्तन तथा भेटघाट गरेर अनुभव साँटासाट तथा नाचगान गरेर र टिभी हेरेर पनि मनोरञ्जन लिन सक्ने उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रुपमा केन्द्रमा जम्मा भएका सबै जेष्ठ नागरिकलाई चिया र बिस्कुट समेत ब्यवथापन गरिएको छ । उक्त सेवाकेन्द्र दैनिक दिउँसो १ः०० बजेदेखि खुल्ला रहने र साँझ बन्द हुनेछ । गोरखा नगरपालिकाको समन्वयमा दिवा सेवाकेन्द्र संचालन गरिएको उनले बताए ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमेयर सपना पुन, सहायक प्रजिअ कमलराज भण्डारी, वडा नं. ६ का वडाध्यक्ष राजेन्द्रबाबु जोशी(दिलिप), गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कुष्णकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




