
सुन्दर नारा, कार्यान्वयन पर
धर्म कुन नराम्रो हुन्छ ? धर्मले अपनाउने बाटाहरु कुन नराम्रा छन् ? कुनचाहिँ धर्मको सार अनुपयुक्त छ ? कुनैको पनि छैन । सबै धर्म राम्रा, सबैको सार राम्रा । सबैको विचार उत्तम हुन्छन् ।
नारा कुन राजनीतिक पार्टीको नराम्रो हुन्छ ? नीति, सिद्धान्त, दर्शन कुन पार्टीको अरुचिकर हुन्छ ? हुदैन, कसैको सिद्धान्त पनि अफाप हुदैन । सबैको नीति, सिद्धान्त, दर्शन, विचार, एजेण्डा अत्यन्त मीठो हुन्छन् । फरक यत्ति हो कि, कुन पार्टीले आफ्ना एजेण्डा कति प्रतिशत कार्यान्वयन गरे ? अनि कतिप्रतिशत चाहिँ देखाउनका लागि मात्र रहेछन् ? महिला नेतृत्व ३३ प्रतिशन पूरा भयो कि भएन ? दलित, अपांगहरुलाई राज्यको मूलधारमा ल्याउन कत्तिको प्रयास गरियो ?
यथार्थमा गठबन्धनले गर्दा महिलाहरुले अनिबार्य पाउनु पर्ने उपप्रमुखको पदसमेत धेरै गुमेका छन् । नयाँ जनप्रतिनिधिहरुमध्य दलितको कोटा, अपांगको कोटाको हालत के छ ?
औपचारिक फोरमहरुमा कुरा उठ्छन् । दलित, आदिवासी जनजानि, अपांगहरुलाई राज्यले हेरिदिनु पर्छ, विशेष जोड दिनु पर्छ । यथास्थानबाट माथि उठ्न दलित, आदिवासी, जनजाति, अपांगहरुलाई अरु सरह सम्भव छैन । अतिरिक्त सामथ्र्यको खाँचो पर्छ, आदि, इत्यादि ।
तर यही कमजोरीलाई आधार बनाएर नेताहरुले दलित, अल्पसंख्यक, अपांग आकांक्षीलाई उम्मेद्वार बनाउँन्नन् । मतदाता मात्र बनाउँछन् । उनीहरु स्वयं अरु गैरदलित वा सबलाङ्गले जत्तिको काम गर्न सक्दैनन्, सबलाङ्गसित प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने बहाना बनाइन्छ र उनीहरुलाई मतदाता मात्र बनाइन्छ ।
कुनै समयमा थियो होला, पछाडि पारिएका बर्ग, समुदाय, अपांगहरुले अगुवा समुदायसित प्रतिस्पर्धा गर्न नसक्ने । तर अहिले समय परिवर्तन भइरहेको छ, । सबैले पढेलेखेका छन् । प्रविधिमा सबै चलाख छन् । त्यसैले अबका दिनमा नारामा जस्तै दलित, अपांग, पछाडि पारिएका समुदायलाई पनि अवसर दिनुपर्छ, चुनावमा भाग लिन दिनुपर्छ, जनप्रतिनिधि बन्ने अवसर दिनुपर्छ ।




