
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन, गोरखाका चार जना सवार
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
१० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित अन्य देशका २ जना नागरिक सहित १९ जना यात्रु र तीन जना चालक रहेको जनाएको छ ।
हराइरहेको जहाजमा गोरखाका चार जना सवारी रहेको पाएको छ । गोरखा शहीदलखन गाउँपालिका–५ तीन माने स्थायी घर भएका गणेशनारायण श्रेष्ठका परिवार मुस्ताङ घुम्न आएको पारिवारिक स्रोतले जनाएको छ । जहाजमा जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित भाउजु रश्मी श्रेष्ढलाई लिएर गणेश श्रेष्ठ पोखरा गएको र त्यहिबाट मुस्ताङ घुम्न गएको उनका पारिवारिक स्रोतले जनाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।
नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।
विमानको खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
मौसममा सुधार हुनासाथ हवाइ मार्गबाट खोजी सुरु गरिने र विमानको खोजीका लागि स्थल मार्गबाट नेपाली सेना र नेपाल प्रहरी घोडेपानीतर्फ प्रस्थान गरिरसकेको प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ ।




