| सोमवार, कार्तिक २३, २०८३

जरै मजबुद नभै टुप्पामा फुलेको, फलेको के औचित्य ?

उनीहरुलाई पार्टी नेतृत्वले गृहजिल्ला, गृहपालिका, गृहवडा जिताउन खटाएको थियो । जरुरी काम प¥यो भने मात्र राजधानी आउन, नत्र पार्टीलाई जिताउन आफ्नै ठाउँमा घुँडा धस्न निर्देशन दिएको थियो ।

तिनीहरु जिल्ला आएको पनि हो । खटेको पनि हो तर जिताउन सकेनन् । अचम्मको कुरा त के छ भने शीर्ष नेताले आफ्नो पालिका तथा वडा बिगतदेखि आजसम्म पनि जिताउन सकेका छैनन् । जस्तो, पूर्व प्रधानमन्त्रीसमेत रहेका डाक्टर बाबुराम भट्टराईले दुवै स्थानीय चुनावमा पार्टीलाई जिताउन सकेनन् । उनको पालुंटारमा अघिल्लो पटक कांग्रेस विजयी भयो, यसपालि माओवादी । पूर्व उपप्रधानमन्त्री समेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि उनको सिरानचोक गाउँपालिकामा दुवै पटक हार खाए । दुवै पटक त्यहाँ कांग्रेसले जीत हात पा¥यो ।

अर्का ठूलो नेता कांग्रेसका सुरेन्द्र पाण्डेले आफ्नै वडा पालुंटार १ मा दुवै पटक हार खाए । अघिल्लो पटक पनि जसपाका कृष्णबहादुर परियारले, अहिले पनि उनैले जितेका छन् । अर्का नेता चीनकाजी श्रेष्ठको आरुघाट बजारमा कांग्रेसले कहिल्यै जितेन । स्थानीय तह हुनुअघि पनि जितेन, भएपछि पनि जितेन । कमला पन्तले आफ्नो जन्मपालिका गण्डकीमा पनि कांग्रेसलाई हार खुवाइन्, मतदाता नामावली रहेको घ्याच्चोकमा पनि पार्टीलाई पराजित गराइन् । घ्याच्चोकमा त कहिल्यै कांग्रेसले जितेको छैन ।

माओवादीका जिल्ला इन्चार्ज कृष्ण धितालको गृहवडा भीमसेनथापा २, जिल्ला अध्यक्ष लेखबहादुर थापाको गृहवडा गोनपा २ मा पनि उनीहरुको पार्टीले हार खायो ।

नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रामशरण बस्नेत र सम्झना देवकोटाको गृहपालिका गोरखा नगरपालिकामा एमाले पराजित बन्यो । परिबार दलका केन्द्रीय अध्यक्षको गृहपालिका भीमसेन र वडा नं. ८ मा उनको पार्टीले जित्न सकेन । महामन्त्री प्रकाश थापाको गृहपालिका र वडा दुवैमा पार्टीले हार खायो ।

यसले के रहस्योद्घाटन गरेको छ भन्ने बारे सबैजना जानकार छन् । ठूलो मान्छे बन्न सबैभन्दा पहिले आफ्नो घर, छरछिमेक, आफ्नो वडा, पालिका, जिल्लामा ठूलो हुुनुपर्छ । जरै मजबुद नभए हाँगा, टुप्पामा फुलेर मात्र औचित्य हुदैन ।

प्रतिक्रिया दिनुहोस्