| मङ्लबार, कार्तिक २४, २०८३

९ पालिका जितेको कांग्रेस २ मा सीमित, २ जितेको माओवादी ९ मा


यसपालिको गोरखाको स्थानीय निर्वाचनले कांग्रेस र माओवादीको स्थान ठ्याक्कै उल्ट्याइदिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा दुईवटा नगरसहित ९ पालिकामा बिजयी नेपाली कांग्रेस अहिले दुईवटामा सिमित भएको छ । दुईवटा गाउँपालिकामा मात्र सीमित रहेको माओवादी केन्द्रले नौ पालिका जितेको छ ।


गोरखामा ११ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा अध्यक्ष र ६ वटामा उपाध्यक्ष जितेको छ भने कांग्रेसले दुईवटा गाउँपालिकामा अध्यक्ष र पाँचवटामा उपाध्यक्ष जितेको छ ।


टिकट बितरणमा कमजोरी, स्थानीय निर्वाचन अघिको पार्टीको चुनाव हुन र पहिलो कार्यकालका जनप्रतिनिधिले दोहोरिने चाहना गर्नु मुख्य समस्या रहेको कांग्रेस नेताहरुले बताएका छन् । ‘फरक पार्टीसँग चुनावी प्रतिस्पर्धा हुँदैछ भन्ने बिर्सेर ब्यक्तिसँगको प्रतिस्पर्धा जस्तो गरी नेता, कार्यकर्ता लाग्दा पराजित हुनुप¥यो’, कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले भने ।


गत निर्वाचनमा माओवादी र नयाँ शक्तिको बिभाजनले कांग्रेसलाई सहज भएको बताउँदै सभापति न्यौपानेले भने, ‘अहिले कांग्रेसको स्थानीय सरकार हटाउन कतिपय ठाउँमा सबै एकजुट भए, यसको पनि असर देखियो ।’ संगठन कमजोर भएर मात्रै सबै पालिकामा हार ब्यहोर्नु परेको नभई पार्टी भित्रकै ब्यक्तिहरु उम्मेदवार जिताउन लागि नपर्दा समस्या भएको उनले बताए । ‘वडा अध्यक्ष हार्ने सदस्य जित्ने, प्रमुख हार्ने उपप्रमुख जित्ने संगठन कमजोर भएर होईन’, सभापति न्यौपानेले भने ।


गोरखा नगरपालिका, गण्डकी गाउँपालिका लगायतमा माओवादी र जसपाको तालमेल हुँदा पनि समस्या भएको उनले बताए । ‘सबै नेता कार्यकर्ता इमान्दारीका साथ खटेको भए जितिन्थ्यो, सबै यसरी हार्ने अवस्था थिएन’, उनले भने । ब्यक्तिसँग असहमति राख्न पाईन्छ तर पार्टीलाई चुनावमा असहयोग गर्नु घात भएको उनले बताए ।


‘हामी प्रजातान्त्रिक पार्टी हो, चुनाव कहिलेकाँही टेक्निकल मिस्टेकले हारिन्छ, अब संगठन बनाउनतर्फ ध्यान दिनुपर्छ, हामी कर्मममा विश्वास गर्छौँ’, उनले भने । अन्य दललाई भोट हालेर कांग्रेसका उम्मेदवारलाई हराउने कार्यकर्तालाई यथेष्ट प्रमाण जुट्यो भने कारवाही गर्ने उनले बताए । कांग्रेसको संगठन राम्रो भएकै वडामा पराजित हुनु, लज्जास्पद हार ब्यहोर्नुले कहिँ न कहिँ समस्या भने रहेको उनले बताए ।


माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले गोर्खाली जनताले माओवादीलाई पत्याएको बताएका छन् । गोरखामा यो संख्यामा स्थानीय तह जित्नुमा पार्टीको नीति, योजना र सही नेतृत्व नै प्रमुख कारण रहेको उनले बताए । ‘जनताले गोरखामा सत्तासीन पार्टीहरुको स्थानीय सरकारमा बिकल्प खोजे’, उनले भने, ‘बिकास निर्माण, सुशासन खोजे, अन्य पार्टीलाई रुचाएनन, एक पटक माओवादीलाई हेरौँ भने ।’


माओवादीले यो जितलाई कसरी प्रयोग गर्ने भन्नेमा धैर्य एवं संयमित रहेको बताउँदै संयोजक थापाले यो जीतलाई जनताको हित र विकास निर्माणमा प्रयोग गर्ने बताए । ‘जीतमा उन्माद छैनौँ, धैर्यता, संयमता, विश्वासघात नगरी जनविश्वास र जनभावनालाई केन्द्रीत गरेर नयाँ शिराबाट अघि बढ्छौँ’, उनले भने । अबको पाँच वर्ष जनताको सेवक बनेर मतको अपमान हुन नदिने गरी माओवादीबाट बिजयी जनप्रतिनिधिले काम गर्ने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्