
बाबु छोरीको चुनावी घमासान : पहिले बाबुले जिते, छोरीले हारिन्, अहिले बाबुले हारे छोरीले जितिन्
२०७४ को स्थानीय निर्वाचनमा गोरखा नगरपालिका ११ मा बाबु छोरी फरक फरक पार्टीबाट सदस्य पदमा चुनाव लडे । बाबु माओवादी केन्द्रबाट वडा सदस्य र छोरी नेपाली कांग्रेसबाट वडा सदस्यमा प्रतिस्पर्धी थिए, त्यतिबेला बाबुले जिते छोरीले हारिन् ।
यो पटकको स्थानीय निर्वाचनमा पनि एउटै वडामा बाबु छोरी सदस्य पदमा प्रतिस्पर्धा गरे । कृष्णप्रसाद रेग्मी खुल्ला तर्फबाट माओवादी केन्द्रको वडा सदस्य उम्मेदवार भए भने उनकी छोरी अप्सरा नेपाली रेग्मी कांग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार बनिन् ।
एउटै पद तर फरक कोटामा बाबु छोरीको प्रतिस्पर्धा थियो । अन्ततः आफ्नो प्रतिस्पर्धीलाई हराउँदै ४१३ मत ल्याएर अप्सरा सदस्यमा विजयी बनिन् । उनका बाबु कृष्णप्रसाद रेग्मी यो पटक विजयी बन्न सकेनन् । छोरी उम्मेदवार बनेको पार्टी नेपाली कांग्रेसबाट सदस्य पदका
उम्मेदवारले १५ मतले उनलाई पराजित गरे । छोरी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् भने बाबु माओवादी केन्द्रको गोरखा नगरपालिका ११ को वडा अध्यक्ष हुन् ।
सो वडामा वडा अध्यक्ष र एक जना महिला सदस्य माओवादी केन्द्रले जितेको छ भने तीन सदस्य कांग्रेसबाट विजयी भएका छन् ।




