| सोमवार, कार्तिक २३, २०८३

ललाइफकाइ ल्याएका मतदातालाई धोखा ?

मतदान गर्नु बालिगहरुको नैसर्गिक अधिकार हो । आफ्नो नेता चुन्न मतदान गर्नु उनीहरुको कर्तव्य पनि हो ।
आफू मतदाता रहेको स्थानबाट टाढा रहेका मतदाताहरु भोट हाल्न आउन, जान गरेर दुई, तीन, चार, पाँच दिनसम्म लाग्छ । मतदान गर्न जाने बेला गाडी नपाएर उनीहरुलाई सास्ती हुन्छ । एकातिर कार्यव्यस्तता, अर्कातिर सवारीसाधनको सास्तीका कारण मतदाताहरु गाउँ फर्कन असजिलो मान्छन् । भोट हाल्नकै लागि असजिलो सामना गरी गाउँ फर्कने कम हुन्छन् ।

त्यसैले उम्मेद्वारहरुले उनीहरुको सास्तीलाई मध्यनजर गरी गाडी रिजर्भ गरी गाउँ ल्याउँछन् । गाउँमा आएपछि उनीहरुले मतदान गर्छन् । मतदान सकिएपछि उम्मेद्वार तथा उनका आसेपासे सबै जना मतगणनाको लफडातिर लाग्छन् । मतगणनाको नतिजा नआएसम्म उनीहरु अरु काममा लाग्दैनन् ।

उम्मेद्वारले ललाईफकाइ ल्याएका यात्रुहरुलाई सहज ढंगले राजधानी वा उनीहरु आएको ठाउँमा फर्काउन कुनै पनि दलले सहजीकरण गर्दैनन् । ल्याए, उनीहरुको दायित्व सक्कियो ।
अब पर्छन् यात्रुहरु कालाबजारीको फेला ।

गाउँबाट फर्कने यात्रुको चापका कारण बसभित्र तिलको गेडो राख्ने ठाउँ पनि हुदैन । यसै ग्रामीण कच्ची सडक, त्यसमाथि यात्रुको चाप, त्यो भन्दा पनि ठूलो समस्या त जति कोच्चिएर यात्रा गर्छु भनेर तयार रहे पनि बस नपाइने समस्या ।
त्यति मात्र होइन, मौकाको चौका हान्दै यातायात व्यवसायीले दोब्बर बढि भाडा असुलेको पाइयो । ‘फर्कदा यात्रु पाइँदैन त्यसैले दुईतर्फी भाडा दिनुपर्छ’ भनेर यातायात मजदुरले खुल्लमखुल्ला दोब्बर भाडा असुल गरेका थिए । यस्तो बेथिति नियमन गर्न कुनै निकाय त्यहाँ हाजिर थिएन ।

यति जसले जुन तबरले बस व्यवस्था गरेर काठमाडौँ वा अन्य सहरबाट मतदाता झिकाएको हो, उसले उसै व्यवस्था गरेर मतदानपछि फर्काउने व्यवस्था गरेको भए यो अबस्था आउने थिएन ।

प्रतिक्रिया दिनुहोस्