
लुम्बिनीमा नेपाल र भारतका प्रधानमन्त्रीद्वारा वुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टरको सिलान्यास
लुम्बिनीमा बन्न लागेको इण्डिया इन्टरनेशनल सेण्टर फर वुद्धिस्ट कल्चर एण्ड हेरिटेजको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
२५६६ औँ वुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदी तथा नेपालका प्रधानमन्त्री देउवाले लुम्बिनीमा निर्माण गर्न लागेको सो हेरिटेज सेण्टरको सिलान्यास गरेका हुन् । सो सम्पदाले नेपाल, भारत, श्रीलंका, म्यानमार, भुटान, थाइल्याण्ड, ताइवान, तिब्बत लगायतका मुलुकमा रहेका वुद्ध धर्म, संस्कृतिको विकास, संवद्र्धन, प्रवद्र्धन, प्रचारप्रसार गर्ने उद्देश्य लिइएको छ ।
सो हेरिटेजका कारण लुम्बिनी तथा नेपालमा धार्मिक पर्यटकको संख्या बढ्ने पनि विश्वास लिइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी विहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । त्यहाँ उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । देउवा र मोदीले मायादेवी मन्दिरमा एकसाथ प्रार्थना गरेका थिए । त्यसपछि उनीहरुले सेन्टरको शिलान्यास गरेका हुन् ।
‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु ।’
भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ ।




