
नेताले फकाइफुल्याई ल्याए र अलपत्र छाडे
शिव उप्रेती :
ग्रामीण भेगबाट काठमाडौँ जाने यात्रुहरु यतिबेला सदरमुकामको सडकमा अलपत्र छन् । काठमाडौँ, पोखरा, चितवन जान सदरमुकाम आएका यात्रुहरु गाडी नपाएर सडक छेउमा अस्तव्यस्त देखिन्छन् ।
बूढाबूढी सडक पेटिमा थकित भएर थुचुक्क बसेका छन्, गर्भवती तथा बालबच्चा बोकेका महिलाहरु बस खोज्दै यता र उता भौँतारिरहेका छन् । गाडीवालाहरु गाडी नपाएर आजित भएका यात्रुसित बढाबढमा बार्गेनिङ गरिरहेका छन् । सडक छेउमा यात्रुको चाप र हतास देखेर यातायात व्यवसायी लुट मच्चाइरहेका छन् ।
वरिपरि ड्युटीका प्रहरी तथा ट्राफिक प्रहरीहरु कतै पनि देखिँदैनन् ।
चुनावमा मतदान गर्न गाउँ आएका मतदाताहरु फर्कने उचित व्यवस्था नहुँदा केहीदिनदेखि गोरखामा यस्तो समस्या देखिएको हो । अनेक प्रलोभन देखाएर गाउँमा ल्याएर नेताहरुले अलपत्र पारेर छाडिदिएको यात्रुहरुको गुनासो छ ।
काठमाडौँ फर्कन साबिकको भन्दा दोब्बर गाडीभाडा तिर्नुपरेको ताकुकोटका पवन देवकोटाको भनाइ छ । ‘फ्रिमा लगिदिन्छौँ, फ्रिमै फर्कने व्यवस्था मिलाउँछौँ भनेर अनेकभाँती भनेर ल्याए । अहिले फर्किने बेला कसैको अत्तोपत्तो छैन’, उनले भने, ‘सित्तै जान पाइयो भनेर आइयो । फर्कने बेला उल्टै दोब्बर भाडा तिर्नुप¥यो ।’ एकहजार रुपैयाँ भाडा तिरेर माइक्रो बसमा काठमाडौँ फर्कन लागेको उनले बताए ।
हाल गोरखा–काठमाडौँको माइक्रोबस भाडा ५३० हो । मिनिबस भाडा ४४५ प्रचलित छ । तर गाडीवालाहरु अहिले यात्रुसित मिनिबसले आठसय र माइक्रोबसले एकहजार उठाएका छन् । ‘अहिले काठमाडौँ जाने मात्र हो, फर्कने यात्रु पाइँदैन त्यसैले दोब्बर भाडा असुलेको हो’, एक गाडीवाला यात्रुसितको बार्गेनिङमा भन्छन्, ‘जाने भए, आउनुस्, नजाने भए यस्ता यात्रु कति पो पाइन्छ ।’
नेताको लहैलहैमा लागेर चुनावमा गाउँ आएकी बुंकोटकी शिला तामाङ पनि अहिले काठमाडौँ फर्कन नसकेर सडकमा अस्तव्यस्त छिन् । ‘गाउँबाट गोरखा बजारसम्म आउने गाडीमा पनि उभिने ठाउँ पनि थिएन । जसोतसो गरेर आएँ । अहिले काठमाडौँ जाने गाडी छैन’, उनी भन्छिन्, ‘ल्याउने बेला ल्याए, अहिले यस्तो हालत पारेर छाडिदिए ।’
काठमाडौँ जाने गाडी नपाएर सडकमा तड्पिरहेका कोखे आहालेका वीरबहादुर मग्रातीलाई माइक्रोबसका मजदुरले १६ जना यात्रु खोज्न र भाडासमेत उठाइदिन आदेश गरे । ‘१६ जना यात्रु पनि मैले खोजिदिनु पर्ने अरे, अनि भाडा पनि एकहजारका दरले मैले नै उठाइदिनु पर्ने भनेर ड्राइभर–कन्डक्टर आएर बार्गेनिङ गरिरहेका छन्’, उनी भन्छन्, ‘जसरी पनि जानुपर्ने छ । गाडी नपाएर होटलमा बस्नु प¥यो भने त्यो भन्दा धेरै खर्च हुन्छ । त्यसैले महंगो भाडा तिरेर भने पनि जानै प¥यो ।’
आफूहरुलाई अप्ठ्यारो परेको मौका छोपेर गाडीवालाले ठगेको यात्रुहरुको गुनासो छ । ‘मौकामा चौका हानेका छन्’, बुंकोटबाट आएकी अर्की नानुमाया श्रेष्ठ भन्छिन्, ‘नेताले गर्दा दुख पाइयो । दिनदहाडै रोडमा सयौँ यात्रु ठगिएका छन् । प्रहरी प्रशासनको ध्यानै छैन ।’ यत्तिका यात्रु सडकमा पसारो परेका बेला प्रहरी प्रशासनले कुनै चासो नदिएको यात्रुहरुको गुनासो छ ।
गाडीवालाले निर्मम ढंगले यात्रु ठग्दा पनि स्थानीय प्रशासन मौन रहेको सडक आसपासका व्यापारीहरुको आरोप छ । ‘सडकमा यात्रुहरु पसारो परेका छन् । हाम्रै आँखा अघि लुट मच्चिएको छ । हामी पनि व्यापारी हौँ । हामीले हस्ताक्षेप गर्न मिल्दैन’, यात्रु ठगिएको देख्ने एक व्यापारी भन्छन्, ‘काठमाडौँबाट रिजर्भ यात्रु लिएर आएको एउटा जीपले चलनचल्तीको भन्दा कम भाडामा यात्रु खोज्दा यहाँका गाडीवालाहरुले धन्नै कुटेनन् ।’ स्थानीय प्रशासनको बेवास्ताका कारण यस्तो स्थिति आएको उनको निश्कर्ष छ ।
चुनावका कारण ट्राफिक प्रहरीहरु ग्रामीण रुटतिर खटिनु परेकाले सदरमुकामको सडकको सवारी व्यवस्थापनमा ध्यान दिन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम पोखरेल बताउँछन् । ‘चुनावमा ग्रामीण सडकमा खटिएका ट्राफिकहरु फर्किरहेका छन् । भोलिदेखि व्यवस्थित हुन्छ’, उनले भने ।




