
फरक स्वार्थका लागि गरिएको गठबन्धन अफापसिद्ध
‘गठबन्धन’ अर्थात कुनै स्वार्थ सिद्धिका लागि गरिने साँठगाँठ । कुनै काम कुराका लागि एक भएर मिल्ने काम, परस्परको मिलेमतोलाई नेपाली शव्दकोशले ‘गठबन्धन’ भनेर परिभाषित गरेको छ ।
तर अहिलेको चुनावमा दलहरु बीच भएको गठबन्धन हेर्दा फरक फरक स्वार्थ सिद्धिका लागि साँठगाँठ गरेको देखियो । पालुङ्टार नगरपालिकामा एमाले र जसपा बीच गठबन्धन गर्ने निर्णय भएको थियो । तर सोमबारसम्मको नतिजा हेर्दा जसपालाई अत्याधिक मत प्राप्त भएको छ । त्यसको अनुपातमा एमालेको मत न्यूनत्तम छ ।
गोरखा नगरपालिकामा जसपा र माओवादी केन्द्र बीच गठबन्धन भएको छ । माआवादी केन्द्रको अग्रत्तम भोट आएको छ तर जसपा धेरै पछाडि छ । त्यसैले यो चुनावी गठबन्धन कुनै एक स्वार्थ सिद्धिका लागि गरिएको साँठगाँठ होइन । फरक–फरक स्वार्थ सिद्धिका लागि गरिएको हो ।
त्यसैले गठबन्धन दलहरु बीच अहिले ठूलै दरार पैदा भएको छ । पालुङटारमा एमालेलाई धोका दिने जसपाले गोरखा नगरपालिकामा धोका खाएको छ । यसले के पुष्टि गर्छ भने, जहाँ जुन शक्तिको मत कम छ, उसले धेरै मत पाउने आशामा धेरै मत भएका पार्टीलाई इमान्दारिता पूरा गरेको छ । यसको ठिक उल्टो जहाँ जुन दल ठूलो छ, उसले सानो दलप्रति इमान्दारिता पूरा गरेको देखिँदैन । गठबन्धनका चिन्हमा छाप लगाउँदा आफ्नो भोटसमेत बदर हुने त्रासले ठूला पार्टीले सिधै मतदान गर्न आन्तरिक सर्कुलर गरेको पाइएको छ ।
स्वार्थ बाझिँदा एमाले र माओवादी बीचको पार्टी एकतामा भाँडभैलो भयो । स्वार्थ बाझिँदा अहिलेको गठबन्धन सरकार बीच पनि दरार पैदा भइरहेको छ । यी उदाहरणले गर्दा फरक फरक स्वार्थका लागि गरिएको गठबन्धन अफापसिद्ध हुने रहेछ भन्ने पुष्टि भएको छ ।




