
जीतबहादुरको राजनीतिक संस्कार : सौहार्द्रपूर्वक भने, विकास र संवृद्धिको अपेक्षा छ
चुनावको नतिजा सार्वजनिक भएपछि सोमबार बारपाक सुलीकोट गाउँपालिकाको प्रांगणमा एउटा अनौठो दृश्य देखियो । चुनावी नतिजाले एकाथरीमा यसै उत्साह थियो, अर्काथरी निराश । तर यो दृश्यले दुवैथरीमा उत्साहको संचार ग¥यो ।
दृश्यका नायक थिए त्यही पालिकाको स्थानीय तह चुनावमा अध्यक्ष पदका उपविजेता बनेका कांग्रेसका युवा नेता जीतबहादुर घले । सोही पालिकामा माओवादीबाट अध्यक्ष पदमा विजयी बनेका विष्णुप्रसाद भट्टसँग आठसय ५५ मतले पछाडि परेको नतिजा सार्वजनिक भएपछि उनले गरेको व्यवहारले उनी साँच्चै असल राजनीतिक संस्कारका नायक रहेछन भन्ने पुष्टि भयो ।
भट्ट विजयी घोषणा भएलगत्तै जीतबहादुरले निशंकोच, भद्र र सालिन मुस्कानका साथ खादा लगाउँदै बधाई दिए । घलेले बधाई मात्र दिएनन्, भट्टलाई प्रतिद्वन्द्वी भन्दा पनि अनन्य मित्रलाई गर्ने व्यवहार गरे । जुन व्यवहारले नतिजाप्रति निराश, उदास भएका कांग्रेस कार्यकर्तामा नयाँ उमंग थप्यो । सबैका अनुहार उज्याला भए ।
बारपाक सुलीकोट गाउँपालिकाका माओवादीका उम्मेदवार भट्टले पाँचहजार सातसय १९ मत प्राप्त गरेर विजयी हुँदा घले चार हजार आठसय सय ६८ मत प्राप्त गरेर उपविजेता भएका थिए ।

निस्कपट, शालिन, भद्र र निश्छल मुस्कानका साथ हात मिलाउँदै घलेले भट्टलाई भने, ‘मैले आफ्नो जनमत मात्र कायम गर्न सकेँ, जित्न सकिन । तपाईँले जित्नु भयो । धेरै धेरै बधाइ छ । तपाईँसित जनताले विकास र संवृद्धिको ठूलो अपेक्षा गरेका छन् । तपाईँले यसअघिको कार्यकालमा जति गर्नुभयो, त्यो भन्दा यो कार्यकालमा दोब्बर, तेब्बर राम्रो गर्नुहोस् । मैले पनि र जनताले पनि तपाईँसित यत्ति अपेक्षा गरेका छौँ, शुभकामना ।’
घले नेपाली कांग्रेसका बारपाक सुलिकोट गाउँपालिकाका सभापति पनि हुन् । सो पालिकाको विकास र संवृद्धिका महत्वपूर्ण निर्णयमा उनको पनि भूमिका रहने गर्छ । अध्यक्ष पदमा विजयी बनेका भट्टले यो यथार्थलाई सहज रुपमा महशुस गरे । साथै उनको शुभकामना स्वीकार गर्दै भने, ‘धन्यवाद । तपाईँहरुको साथ र सहयोग पाइरहुँ । तपाईँहरुको साथ र सहयोगले मात्र विकास र संवृद्धि सम्भव छ । बारपाक सुलीकोटको विकास र संवृद्धिका लागि इमान्दारिताका साथ आफ्नो कार्यभार पूरा गर्नेछु ।’
यति भन्दै घलेले भट्ट र उपाध्यक्षमा निर्वाचित सनमाया गुरुङलाई खादा पहि¥याइदिए । सबैसित मिलेर फोटो खिचाए ।
यो दृश्यपछि दुई पक्षका कार्यकर्ता बीच कलुश, द्वेष तथा प्रतिशोधको भावना मत्थर भएको दृश्य देखिन्थ्यो ।





