| मङ्लबार, कार्तिक २४, २०८३

कछुवा गतिमा मतगणना, मतदाताहरुलाई सकसपूर्ण प्रतीक्षा

११ वटा पालिका रहेको गोरखामा शुक्रबार सबै पालिकामा मतदान सम्पन्न भयो । भीमसेनथापा गाउँपालिका २ ताराखसेमा झडपका कारण रोकिएको मतदान सुचारु हुन नसकी समाप्त भयो । जसले गर्दा मतदान गर्ने लाइनमा रहेका करिब ८० जना मतदान गर्नबाट बञ्चित रहे । साँझ अबेरसम्म तनाब साम्य नभएका कारण खसेको मत जति सुरक्षित राखी मतदान अन्त्य गर्ने निर्णय गरियो ।

मतदान सकिए लगत्तै १० वटै पालिकाहरुले मतपेटिका संकलन गर्न थाले । राती अबेरसम्म सबै पालिकाले मतपेटिका सुरक्षितपूर्वक संकलन ग¥यो । मतपेटिका साँटिएको आरोपमा कांग्रेस कार्यकर्ताले बारपाक सुलीकोटको मतपेटिका संकलनमा केहीबेर अबरोध गरे । अन्ततः त्यहाँ पनि सुरक्षित मतपेटिका संकलन भयो ।

गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाले राती नै सर्वदलीय बैठक गरी मतगणना सुरु गरे । गाउँपालिकाहरुले भने शनिबार बिहान मात्र सर्वदलीय बैठकको आव्हान गरे । कुनै पालिकाले सात, आठ र कुनै पालिकाले दिउसो एकबजेसम्म पनि सर्वदलीय बैठक गर्न सकेनन । फलस्वरुप कतिपय पालिकाले दिउसो एकबजेदेखि मतगणना सुरु गरे ।

सुदूर उत्तरी गाउँपालिका चुमनुब्रीको व्यथा अर्कै रह्यो । मतदानकेन्द्रबाट गाउँपालिकाको केन्द्रसम्म पुग्न दुईदेखि तीनदिनसम्म पनि लाग्ने भएकाले त्यहाँ मतपेटिका अझै संकलन भइसकेको छैन । आइतबारसम्म सबै केन्द्रका मतपेटिका आइपुग्ने आशा निर्वाचन कार्यालयले जनाएको छ । त्यसपछि मात्र मतगण सुरु हुने निर्वाचन अधिकृत नानीबाबु पोखरेलले जानकारी दिए ।

‘आज ड्याङसम्म आइपुग्ने कुरा छ । भोलि समयमै आइपुग्छ अनि सर्वदलीय बैठक बसी गणना सुरु गर्छौँ ।’ सो पालिकामा २१ वटा मतदान केन्द्रहरु छन् ।
प्रक्रिया सुरु भएका वडाहरुमा पनि मतगणनाको काम कछुवा गतिमा अघि बढिरहेको छ । कर्मचारी अभाव, गणना गर्ने स्थलको अपर्याप्तता, विभिन्न किचलो तथा प्राविधिक कठिनाइका कारण गणना कार्यमा ढिलाइ भएको निर्वाचन अधिकृतहरुको गुनासो छ ।

शुक्रबार रातीदेखि नै गणना सुरु गरेको गोरखा नगरपालिकाको शनिबार दिउसोसम्म दुईवटा वडाको मात्र मतगणना सकिएको छ । राती अबेरसम्म वडा नं. ३ को गणना कार्य जारी छ । शुक्रबार रातीदेखि गणना सुरु भएको पालुङटार नगरपालिकाको पनि शनिबारसम्म एउटा वडाको मात्र मतगणना सम्पन्न भएको छ ।

अजीरकोटको एक, बारपाक सुलीकोटको एक, धार्चेको एक वडाको मात्र शनिबारसम्म नतिजा सार्वजनिक भएका थिए ।
‘सरासर गन्न पाइँदैन, सबैलाई देखाउनै प¥यो । सबैको चित्त बुझाउँदै गन्न धेरै बेर लाग्छ’, अजीरकोटका निर्वाचन अधिकृत कमलराज भण्डारी भन्छन्, ‘सुरु गर्दैमा ढिला भएको थियो ।’ तीनदिनभित्र सबै गनेर सक्ने शहीदलखनका निर्वाचन अधिकृत जीवनप्रसाद आचार्य बताउँछन् । ‘गणना सुरु गर्न ढिला भएको हो । चार समूह बनाएर गणना भइरहेको छ ।’

सिसिक्यामरा, तारजाली राख्ने, पार्टीका प्रतिनिधिहरुलाई चित्त बुझाउनु पर्दा ढिला भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालको भनाइ छ । ‘सुरक्षाको दृष्टिले पनि धेरै ठाउँमा गन्न सकिँदैन । सबै व्यवस्था मिलाएर गणना गर्दा दिनमा दुईवटा वडाको मात्र मतगणना गर्न सकिने भयो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्