
कहिले होला धाँधलीपूर्ण चुनावको अन्त्य ?
विश्वको आजसम्मको अभ्यासमा जनताको मत, अभिमतले निर्वाचित भएपछि शासनसत्ताको बागडोर सम्हाल्ने पद्धति भनेको निर्वाचन हो । आम नागरिकले असल, सक्षम, योग्य व्यक्तिलाई मात्र चुन्छन् भन्ने परिकल्पना गरिएको हुन्छ । र निर्वाचन स्वच्छ, स्वस्थ, धाँधलीरहित भयो भने कुनै पनि तहको नेतृत्वमा परिकल्पना अनुसार नै नागरिकद्वारा चुनिएको व्यक्ति पुग्छ ।
तर अहिलेसम्म आइपुग्दा निर्वाचन कम स्वस्थ्य, धेरै प्रदुषित, कम धाँधलीरहित, अधिक धाँधलीपूर्ण हुने गरेको छ । र यसबाट चुनिने व्यक्ति असल कम, खराब ज्यादा प्रवृत्ति भएको, सद्दे कम, प्रदुषित बढि, सक्षम कम, असक्षम बढि, योग्य कम, अयोग्य बढि हुने गर्छन् ।
सुरुमा टिकट पाउन अस्वस्थ्य प्रतिष्पर्धा हुन्छ । साम, दाम, दण्ड, भेद प्रयोग गरी अस्वस्थ प्रतिस्पर्धाबाट टिकट लिने व्यक्ति स्वस्थ्य कसरी हुन्छ ? अनि टिकट पाएपछि चुनाव जित्नलाई अनेक तिकडम अपनाउँछन् । यहाँ पनि साम, दाम, दण्ड, भेद प्रयोग हुन्छ ।
सहज रुपमा भन्ने हो भने संसारमा असल व्यक्तिलाई छाडेर खराब व्यक्तिलाई कसैले चयन गर्दैनन् । जब साम, दाम, दण्ड, भेद प्रयोग हुन्छ, अनि खराबले पनि चुनिन्छ ।
जब खराब व्यक्ति चुनिन्छ भने अनि कसरी शासन व्यवस्था असल हुन्छ भनेर आशा, अपेक्षा गर्नु ?
अहिले नेपालमा भइरहेको निर्वाचनमा पैसा बाँड्ने समस्या अध्याधिक छ । जब मौन अवधि सुरु हुन्छ, अनि नेता, कार्यकर्ता गाउँघर पस्छन् । मतदाता फकाउन पैसा बाँड्छन् । यो वा त्यो कुनै एक वा दुई पार्टीको होइन, यो हर्कत चुनाव जित्ने प्राय पार्टीका उम्मेद्वारले अपनाउने पद्धति हो यो ।
त्यस्तै फर्जी मत हाल्ने, मतदातालाई डर, धाक, धम्की देखाएर मतदान गर्नबाट बञ्चित गर्ने, बुथ फ्याँक्ने, साँट्ने जस्ता कुकृत्य पनि हुने गर्छन् ।
जबसम्म धाँधलीपूर्ण चुनाव हुन्छ, तबसम्म असल नेतृत्व चयन हुँदैन । त्यसैले यो अबस्था सुधार हुनु जरुरी छ ।




