| मङ्लबार, कार्तिक २४, २०८३

मौन अवधिमा पनि मौन रहेनन् बाबुराम, निर्वाचन कार्यालयमा लिखित उजुरी

सत्ता गठबन्धनको सीमा मिचेर गृहनगर पालुङ्टारमा एमालेसित चुनावी तालमेल गरेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले मौन अवधिको अनुशासन सीमा पनि उल्लंघन गरेका छन् ।


सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता नाघ्दै उनले बुधबार चुनावी कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।


निर्वाचन आयोगले मंगलबार राती १२ बजेदेखि मौन अवधी लागु गरेपनि डा भट्टराईले गृहनगर पालुङटारका बिभिन्न वडाका टोलहरुमा पुगेर चुनावी सभा आयोजना गरिरहेका जसपा इतर पार्टीहरुको आरोप छ ।


‘बुधबार बिहान पालुङ्टार नगरपालिका वडा नं. १ का बेलबास, भैसेपानी, खुर्पाजुङ, कोलकाटे, जोर्तीचौतारामा १२ बजेसम्म चुनावी कोणसभा गर्दै हिड्नुभएको हो’, स्थानीय माओवादी कार्यकर्ता गेमलाल श्रेष्ठले भने, ‘उहाँको अघिपछि दर्जनौँ नेता, कार्यकर्ताहरु पनि थिए । भाषण पनि चलेको थियो ।’ चुनावी कार्यक्रममा हिँडेकाले एकबजेदेखि आयोजना गरिएको मतदानकेन्द्रस्तरको बैठकमा जसपाको सहभागिता ढिला भएको उनको भनाइ छ ।

संविधान निर्माणका बेला मस्यौदा समितिका संयोजक समेत रहेका नेता भट्टराईले चुनावी आचारसंहिता उल्लंघन गरेको कांग्रेसका स्थानीय नेताहरुले पनि आलोचना गरेका छन् । उनको साथमा धर्मपत्नी तथा जसपा नेतृ हिसिला यमी पनि सरिक छन् ।
‘यस अवधीमा मतदातालाई प्रभाव पार्ने, दवाव दिने वा कुनैपनि प्रकारले भोट माग्न समेत रोक लगाएको छ, तर उहाँहरु भने निर्धक्क साथ पालुङटारका बस्ती बस्ती पुगेर मतदातासंग भोट मागिरहनु भएको छ’, एक कांग्रेस नेताले भने ।


मौन अवधी सुरु भएकै दिनमा घरदैलो गरेको र चुनावी सभालाई सम्बोधन गरिरहेको तस्वीर आफैले सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरमासमेत पोस्ट गरेका छन् ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उहाँका कार्यकर्ताले निर्वाचनको आचार संहिता उल्लंघन गरेको बारे लिखित र मौखिक उजुरी बारम्बार परिरहेको सो नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज पन्तले जानकारी दिए । ‘२८ गते निर्वाचन सम्बन्धी कार्यक्रम गरेको भनेर लिखित उजुरी आएको छ’, उनले भने, ‘यसलाई हामी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगमा फर्वाड गर्छौँ ।’ जसपाविरुद्ध यस्ता उजुरी बारम्बार पर्ने गरेको उनले बताए ।


कहिले राती १२ बजेसम्म चुनावी कार्यक्रम गरेको भनेर उजुरी पर्ने, कहिले मतदातालाई प्रभावित पर्ने, प्रलोभनमा पार्ने गरेको भनेर पनि उजुरी आइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘बारम्बार उजुरी आइरहन्छ । बारम्बार लिखित, मौखिक स्पस्टिकरण सोधिरहन्छौँ । अबदेखि यस्तो गर्दैनौँ भनेर प्रतिवद्धता पनि जनाइरहनुहुन्छ’, उनले भने, ‘पूर्वप्रधानमन्त्री जत्तिको मान्छेले पनि यसरी बारम्बार आचार संहित उल्लंघन गर्नुहुन्नथ्यो । हामी सचेत गराएको गरायै, उहाँहरुले क्षमा याचना गरेको ग¥यै । यहाँ यस्तै चलिरहेको छ ।’


पालुङटार आफ्नो गृहपालिका भएकाले कुनै पनि हालतमा यहाँको नेतृत्व हातपार्ने योजनासहित भट्टराई बिगत एकसातादेखि यहाँ सघन चुनावी कार्यक्रमका सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्