
जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा, बैंक र विद्यालय पनि बिदा हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको बताए ।
बुधबार बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
हप्तामा दुई दिन बिदा गर्दा पाँच दिन १० देखि ४ बजेसम्म समय कायम हुनेछ ।
यस अघि शुक्रवार आधा दिन मात्रै विद्यालयहरुमा पढाई हुन्थ्यो । हिउँदे, वर्षे र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म मात्रै विद्यालयमा बिदा हुने भएको छ । यसअघि हिउँदे, वर्षे र पर्व बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।
उनका अनुसार हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था छ । यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइएको छ ।
सरकारले सरकारी कार्यालयहरु हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
यस अघि विद्यालय के गर्ने भन्ने अन्यौल थियो । राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक पनि हप्तामा दुई दिन बिदा हुने निर्णय गरेको छ । जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यन्वयनमा आउने भएको छ ।




