
रस्साकस्सी बढ्दै हुँदैछ, सुरक्षा निकाय पर्याप्त चनाखो बनोस्
मूर्खहरु ‘रिसको झोकमा कसैले वेद पढ्दैन’ भन्दै आफ्ना मुख्र्याइँलाई वेद सिँचित जलले स्नान गर्ने प्रयास गर्छन् ।
युद्धको पनि विभिन्न सीमा हुन्छ । चोहरुमा पनि आफ्नै खालको नैतिकता हुन्छ ।
त्यस्तै ‘राजनीतिमा असम्भव भन्ने केही हुन्न’ भन्ने स्वघोषित कथन बनाएर आचार संहिता, नीति, नियम, नैतिकता, आदर्श, निष्ठा, इमान्दारिता, मर्यादालाई पाताल धस्ने दुश्चेष्टा गर्ने गरिन्छ । ‘चुनावमा जसले हान्यो, यसले जान्यो’ भन्ने अर्को जवर्जस्त कथन लाद्न खोजिन्छ । जुन पार्टीको जुन ठाउँमा हैकम चल्छ, त्यहाँ उसले शक्ति प्रदर्शन गर्ने, बुथ कव्जा गर्ने, मनोमानी गर्ने गर्छन् । यसलाई पनि ‘राजनीतिमा सबै सम्भव छ’ भन्ने पदावलीले गहुँतपानी छर्केर चोख्याउने दुश्प्रयास गरिन्छ ।
जति चुनावको दिन नजिकिँदै गएको छ, निर्वाचनमा सहभागी भएका दलका नेता, कार्यकर्ताहरु उत्ति नै उत्तेजित हुँदै गएको देखिन्छ । चुनाव जित्ने होड र जोशमा राजनीतिक दलका नेता कार्यकर्ताले निर्वाचनका आचार संहितालाई लात हान्दैछन् । ठूला स्वरमा माइकिङ गर्नुहुन्न भन्ने वुँदा निरिह भइरहेको छ । प्रतिस्पर्धी तर्सिने गरी तडकभडक गर्ने गरिएको छ ।
प्राचीन कालमा दुई बरियाँत जम्काभेट हुँदा भिडन्त हुन्थ्यो । अहिले चुनाव प्रचार प्रसारका दुई समूह भेट हुँदा त्यही झल्को देखिन्छ । चुनाव नजिकिँदै जाँदा बिहानै सडकमा भिडन्त हुन्छ कि, साँझ परेपछि पो हुन्छ कि जस्तो दृश्य देखिन थालेको छ ।
सदरमुकाममा त पर्याप्त सुरक्षाकर्मी छन्, तितरबितर पार्न सक्लान्, तर सदरमुकाम बाहिरका गाउँठाउँमा यस्तो भिडन्त भएमा साम्य पार्ने कुनै तागतले नभेट्न सक्छ । यस्ता घटनामा राजनीतिक मुद्धा भनेर कुनै ‘खतबात’ नलाग्ने गरेको पनि इतिहास छ । त्यसैले निक्कै संवेदनशील समय नजिकिँदै छ । सुरक्षा निकायले पर्याप्त चनाखो बन्नुपर्ने अबस्था छ ।




