| मङ्लबार, कार्तिक २४, २०८३

पालुङ्टार ४ मा तीनवटै पार्टीका ‘बागी’ उम्मेद्वार

गोरखाको पालुङटार नगरपालिकाको एउटै वडामा चारजना बागी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पालुङटार नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदका लागि कांग्रेस, माओवादी र जसपा पार्टीका बागी उम्मेदवारी परेको हो ।
त्यहाँ पार्टीका आधिकारिक र बागी गरी वडा अध्यक्षमा १० जना चुनावी मैदानमा छन् ।

यसअघि जनता समाजवादी पाटीले जितेको उक्त वडामा जसपाकै दुईजना बागी उम्मेदवार अहिले मैदानमा छन् । जसपाको आधिकारिक उम्मेदवार कमलबहादुर बोगटी छन् । टिकट नपाएपछि जसपाका डिलेन्द्रबहादुर देवकोटा र देबेन्द्रराज देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै नेपाली कांग्रेसले आनन्दकुमार श्रेष्ठलाई अध्यक्षको आधिकारिक उम्मेदवार बनाएको छ । तर कांग्रेसका कृष्णप्रसाद सोडारीले त्यहाँ स्वतन्त्र उम्मेदवारको रुपमा बागी उठेका छन् ।

माओवादी केन्द्रबाट मानबहादुर पौडेल उम्मेदवार छन् । त्यहाँ उनका पारिबारिक नाता पर्ने सोही पार्टीका इश्वरीप्रसाद पौडेल माओवादीबाट बागी उम्मेदवार बनेका छन् ।

यी बाहेक नेकपा एमालेका बाबुराम श्रेष्ठ, राप्रपाका अमृतकुमार श्रेष्ठ, नेकपा एसका ढुण्डीराज देवकोटा पनि वडा अध्यक्षका उम्मेदवार छन् । सबैभन्दा धेरै बागी उम्मेदवार उठेको र अध्यक्षका लागि १० जना बीच प्रतिस्पर्धा हुन लागेको पालुङटार नगरभित्र वडा नम्बर ४ मा मात्र हो । सबैजसो पार्टीबाट बागी उम्मेदवार भएपछिको बलियो छ भन्ने आँकलन गर्न सहज छैन ।

प्रतिक्रिया दिनुहोस्