
मतदाता खोज्न पाटनतिर धाउँदै उम्मेद्वारहरु
उत्तरी गोरखामा चुनावमा उठेका उम्मेद्वारहरु यतिबेला मतदाता भेट्न लेक, खर्क र पाटनतिर धाएका छन् । चुमनुब्री ६ चुम्चेत र वडा नं. ७ छेकम्पारका बासिन्दा घरमा तालाचावी ठोकेर यार्सागुम्बा संकलन गर्न लेकमा गएपछि उम्मेद्वार र नेताहरु उनीहरुको पछि लागेका हुन् ।
लेकमै पुगेर मतदाता भेटी बैशाख ३० गते भोट हाल्न आउन र आफ्नो पार्टीलाई भोट हाल्न अनुरोध गरेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेद्वारहरु बताउँछन् ।
मतदाता खोज्दै उनीहरु तिब्बती सीमानामा रहेको छेक्यालेक र बाज्योलेक पुगेका हुन् । ‘यार्सागुम्बा संकलन गर्न लेकमा गएकाहरुलाई माओवादीका उम्मेद्वार र नेताहरुले भेटेर भोट मागेर फर्कनु भयो’, सो वडाका वडाअध्यक्ष पासाङ फुञ्जो लामा भन्छन्, ‘कांग्रेसका उम्मेद्वार नेता कार्यकर्ताहरु हिजो(शनिबार) जानु भएको छ ।’ छेक्या र बज्योको लेक र खर्कमा यतिबेला छेकम्पारका करिब पाँच–छसय जना मतदाता यार्सागुम्बा संकलन गर्न पुगेका उनले जानकारी दिए ।

माओवादीका चुमनुब्री गाउँपालिका उपाध्यक्षकी उम्मेदवार लक्ष्मी गुरुङको नेतृत्वमा लेकमा पुगेको सो टोलीमा सोही पार्टीका गाउँपालिका कमिटीका सहसचिव विशाल घले, वडाअध्यक्षका उम्मेद्वार ल्हाक्पा नुर्बु लामा, वडा सदस्यका उम्मेदवार गरी १४ जना सहभागी रहेको सहसचिव विशाल घलेले जानकारी दिए ।
कांग्रेसको टोलीमा वडाअध्यक्षका उम्मेद्वार टासी दोर्जे लामाको नेतृत्वमा वडा सदस्यका उम्मेद्वार तथा अन्य सहयोगी कार्यकर्ता गरी १० जना रहेको वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए ।
दिनभरि यार्सागुम्बा संकलनमा सक्रिय रहेका उनीहरुलाई नेताहरुले साँझ पाँचबजेदेखि साँझ सात बजेसम्म भेटेर भोट मागेका टोलीमा सहभागी विशाल घलेले जानकारी दिए । ‘यतिबेला गाउँघरमा मतदाता भेटिदैनन् । भर्खरको सुत्केरी र हिँड्न नसक्ने बूढाबूढी मात्र छन् । बाँकी सबैजना घरमा ताला लगाएर यार्सागुम्बा टिप्न लेकतिर गएका रहेछन् ।

त्यसैले हामी पनि मतदाता भेट्न उहाँहरुको पछि लागेर त्यतै गयौँ’, घलेले भने, ‘उहाँहरुलाई भेटेर हामीले ३० गते भोट हाल्नका लागि २९ गते बेलुकीसम्म गाउँमा आउन अनुरोध ग¥यौँ । पार्टीले केन्द्रमा गठबन्धन गर्न भनेको हुँदा हामीले कुनै पनि प्रतिस्पर्धी पार्टीको आलोचना गरेनौँ । हाम्रा उम्मेद्वारलाई भोट हाल्नुस् मात्रै भन्यौँ ।’ बिगतका चुनावमा दुई प्रतिस्पर्धी पार्टी बीच घोचेपेच र अस्वस्थ व्यवहार भएको भोगेका गाउँलेहरु यसपटक स्वस्थ व्यवहार देखेर खुशी भएको र भोट हाल्न आउने बाचा गरेको उनले बताए ।
आफूहरुको पछिपछि कांग्रेसका नेताहरु पनि भोट माग्दै आएको देखेको उनले बताए । ‘हामी छेक्या पुग्दा उहाँहरु बज्यो आइपुग्नु भएको थियो’, घलेले भने ।
सो क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने यो मुख्य सिजन हो । ‘यतिबेला एकजनाले एक दिनमा ४० देखि ५० वटासम्म यार्सागुम्बा पाउँछन् । यस्तो सिजनमा यार्सागुम्बा टिप्न नजाओ भन्न पनि मिलेन’, नेपाली कांग्रेसका गाउँपालिका सभापति सूर्य गुरुङले भने, ‘बरु जसरी पनि ३० गते भोट हाल्न आइपुग्नू भनेर समाचार पठाएका छौँ ।’

यसअघिका चुनावमा पनि आंशिकबाहेक अधिकांश मतदाता भोट आउने गरेका वडाअध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । ‘हाम्रो वडामा करिब आठसय जना मतदाता छन्’, उनी भन्छन्, ‘अघिल्लो पटक पनि करिब चारसय भोट खसेको हो ।’ धेरै मतदाताहरु गाउँबाहिर र देशबाहिर रहेका कारण धन्नै ५० प्रतिशत मत नखसेको उनको भनाइ छ । ‘काठमाडौँका गुम्बा, इण्डियाका गुम्बातिर धेरै छन् हाम्रोबाट’, उनी भन्छन्, ‘काठमाडौँबाट गाउँमा आइपुग्न पाँच दिन लाग्छ । खर्च त्यत्तिकै लाग्छ, त्यसैले काठमाडौँ गएकाहरु त फर्कन मान्दैनन्, इण्डिया र अरु देशमा गएकाहरु त झन के फर्किन्थे र ?’
यार्सागुम्बा संकलन गर्नका लागि छेकम्पारबाट चार हजार मिटर भन्दा अग्ला ती लेकहरुमा पुग्न करिब १८ घण्टा हिड्नु पर्छ । यति धेरै हिँडेर लेकमा गएका मतदातालाई सहज हुनेगरी मतदान कार्यक्रम तय गर्न निर्वाचन कार्यालयसँग कुनै योजना छैन । ‘यस्तो अबस्था छ भनेर यसअघि जानकारी पनि भएन’, जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले भने, ‘त्यसैले उनीहरुलाई सहज हुने गरी कुनै कार्यक्रम राख्न सकिएन । बरु जसरी हुन्छ, उहाँहरुलाई निर्वाचनमा भाग लिन आउन प्रेरित गर्नुपर्छ ।’




