| मङ्लबार, कार्तिक २४, २०८३

बाबुरामलाई आफ्नै पालिकामा साख जोगाउन धौ

आफ्नो पार्टीका मेयरका उम्मेद्वार प्रेम गुरुङलाई जिताउन साताव्यापी कार्यक्रम लिएर गृहनगर आएका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई पालुङटार हात पार्न हम्मेहम्मे छ ।

पाँचबर्षअघि तत्कालीन नयाँशक्ति पार्टीले गोरखाका ११ मध्य कुनै पनि पालिका जित्न सकेको थिएन । पालुङ्टार नगरपालिकाका तीनवटा वडा, धार्चेको एक र सिरानचोकको एउटा वडा मात्र जितेको थियो ।

अहिले जिल्लामा पार्टीको साख जोगाउन डाक्टर भट्टराई दिनरात र विशेषगरी आफ्नै गृहनगरपालिकामा तल्लीन छन् । दुई दिनमा उनले आठवटा वडामा घरदैलो गरिसकेका छन् । बाँकी वडा नं. ३ र १० मा पनि घरदैलो कार्यक्रम रहेको उनका स्वकीय सचिव रोशन पोखरेल बताउँछन् ।

‘डाक्टरसाव सहभागी कार्यक्रममा जनलहर देख्दा जित निश्चित जस्तो देखिन्छ, तैपनि चुनाव हो, के भन्न सकिन्छ र ?’, पोखरेल भन्छन्, ‘नेकपा सरकारको तीनबर्षे अवधिमा डाक्टरसाबले अघि बढाउनु भएको कुनैपनि योजना अघि बढ्न नसकेकाले जनगुनासो धेरै सुन्न परेको छ । त्यो पनि पूरा गर्ने वचन दिँदै हिड्नु भएको छ ।’

सो नगरपालिका यसअघि नेपाली कांग्रेसले जितेको थियो । जसपा तेस्रो स्थानमा पुगेको थियो । कांग्रेसका दीपकबाबु कँडेलले ४,६९८, निकटत्तम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले ४,४१९ र जसपाका अशोक देवकोटाले ३,९७६ मात्र मत प्राप्त गरेका थिए ।
अहिले पनि संघीय परिषद अध्यक्ष भट्टराईलाई आफ्नो पालिका जित्न मुस्किल रहेको स्थानीयबासीहरुको विश्लेषण छ ।

‘अहिले बाबुराम भट्टराई खट्न त दिनरात नभनी निक्कै खटेका छन्, तर जित्न सजिलो छैन’, स्थानीय हरि देवकोटा भन्छन्, ‘मेयरमा उठ्ने भनेर प्रेम गुरुङ दुईबर्ष अघिदेखि जागिर राजिनामा गरेर माहोल बनाउँदै बसे पनि ठिटाहरु मात्र परिचालन गरेर कसरी भोट जितिन्छ ? कि माओवादी अथवा कांग्रेससित गिभ एण्ड टेक गरेर तालमेल गर्न सकेको भए हुन्थ्यो ।’

जनयुद्धका बेलादेखि लुकेका कांग्रेस पनि अहिले बलियो भइसकेको र जिल्लाकै कम्युनिष्टहरुको किल्ला भएकाले माओवादीका उम्मेद्वार पनि बलियो रहेको उनको विश्लेषण छ ।

मेयरको उम्मेद्वार छान्ने बेला जसपाभित्र दन्केको आन्तरिक बिद्रोहका कारण पनि जित्ने मत पाउन कठिन भएको स्थानीयबासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्