
पार्टीको साख जोगाउन गृहनगरमा घुँडाधस्दै केन्द्रीय नेताहरु
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्षनेताहरु गृहनगरको घरदैलोमा खटिएका छन् । अघिल्लो चुनावमा शीर्ष नेताले आफ्नो पालिकामा पार्टीलाई जिताउन नसकेको आलोचना भएकाले यसपटक उनीहरु आफ्नो ठाउँमा घुँडा धसेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेका केन्द्रीय नेताहरु यतिबेला बिहानदेखि मध्यरातसम्म चुनावी अभियानमा छन् ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई शुक्रवारदेखि गृहनगर पालुङटरमा छन् । शुक्रवार बिहान ६ बजेदेखि राती १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले बताए । ‘उहाँ टोलटोलमा जनभेटघाटका क्रममा हुनुहुन्छ’, उनले भने, ‘पालुङटार नगरपालिकाको सबै वडामा कार्यक्रम चलिरहेको छ ।’
सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिकाको बिभिन्न ठाउँमा चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनले बताए । भट्टराई चुनावको दिनसम्म पालुङटारमै रहनेछन् । उनको मतदाता नामावली पनि पालुङ्टारमै छ । अन्नपूर्ण मावि मतदान केन्द्रमा मत खसाल्ने उनको कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
भेटघाटका क्रममा स्थानीयले बिकास निर्माणका काम सोचेअनुसार अघि बढ्न नसकेको गुनासो गरे । जवाफमा भट्टराईले नेकपाको संयुक्त सरकार हुँदा तीन वर्ष गोरखामा विकासको बन्ध्याकरण जस्तै अवस्था रहेको बताए । साथै उनले यो वर्ष केही योजना सुरु भएको र छिटो सम्पन्न गर्न आफू लागि पर्ने आश्वासन दिए ।
पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि गृह पालिकाको चुनावी सभामा व्यस्त छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनी घरदैलोमा छन् । शनिवार बिहानै ८ बजेदेखि बेलुकी ८ बजेसम्म बिभिन्न भेटघाट, घरदैलो र चुनावी सभामा ब्यस्त रहेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।
‘शुक्रवार बारपाकमा, शनिवार सिरानचोक ८ मा घरदैलो कार्यक्रममा छौँ’, उनले भने । सिरानचोक ८ आफ्नो वडा समेत भएकाले श्रेष्ठ घरदैलोमा सक्रिय छन् । चुनावसम्म गाउँमै रहने र गोरखाका अन्य पालिकामा आयोजित कार्यक्रममा पनि सहभागी हुने योजना रहेको श्रेष्ठले बताए । केही दिनअघि उनी अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा समेत सहभागी थिए ।
राष्टिूय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे पनि गृहनगर पालुङटारमा छन् । उनी चुनावी अभियानका क्रममा टोटोलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
‘शुक्रवार गोनपा ३ नारेश्वर, शनिवार पालुङटारको १, ९, १० लगायत ठाउँमा छु’, उनले भने, ‘चुनाव अवधीभर यतै रहन्छु ।’ घरदैलो गर्दै आफ्ना उम्मेदवारलाई भोट मागिरहेका उनले भने ‘सडक, पक्की पुल, सामुदायिक भवनको धेरै माग गर्छन ।’ बिहान ८ बजेदेखि बेलुकी अबेरसम्म पनि चुनावी कार्यक्रममा सहभागी हुने गरेको उनले बताए ।
गोरखा क्षेत्र नम्बर २ को बिभिन्न पालिकामा आयोजित चुनावी सभा र घरदैलो अभियानमा चुनावभरि सक्रिय रहने उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ पनि गोरखा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रममा सक्रिय छन् । केहीदिन यता भीमसेन थापा, आरुघाट गाउँपालिकाको बिभिन्न टोलमा आयोजित कार्यक्रममा सक्रिय रहेको उनले बताए । अर्का केन्द्रीय सदस्य अब्दुल सतार पनि चुनावी अभियानका क्रममा गोरखा क्षेत्र नम्बर २ मा छन् । सिरानचोक, पालुङटार क्षेत्रमा सक्रिय रहने उनले बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत गोरखा नगरपालिकाको टोलटोलमा आयोजित चुनावी कार्यक्रममा ब्यस्त छन् । शनिवार बिहान पालुङटार नगरपालिकाको बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएर गोरखा नगरपालिका ७ मा आयोजित सभामा पनि उनी सहभागी भए । शनिवार नै गोनपा ४ को कार्यक्रमा पनि पुगेका थिए । एमाले केन्द्रीय सदस्य सम्झना देवकोटा गोरखा नगरपालिकामा एमालेको तर्फबाट मेयर उम्मेदवार छिन् । केन्द्रीय सदस्य बस्नेत र देवकोटा गोरखा नगरपालिका ३ का हुन् । बिहानदेखि बेलुकी सात÷आठ बजेसम्म चुनावी सभा, भेटघाट चलिरहेको बस्नेतले बताए । प्रदेश कमिटि, जिल्लाका पदाधिकारी, नगर पालिकाका सबैलाई चुनावी अभियानमा खटाइएको उनले बताए ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य चुडामणि खड्का पनि केहीदिन यता गोरखामा छन् । नेता कार्यकर्तासँग नियमित भेटघाट गर्ने चुनावी योजना बनाउने र सभामा सहभागी भइरहेका छन् ।
यसअघि जसपा अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङटार र माओवादी नेता नारायणकाजी श्रेष्ठको गृहपालिका सिरानचोक कांग्रेसले जितेको थियो ।




