
तेह्रकिलो बजारबासीको रहर नचुँडाऊ
गोरखा नगरपालिका ११ को तेह्रकिलो बजार गोरखाको पुरानो बजारमध्यको हो । राजमार्ग नखुल्दैदेखि घुम्ती बजारको नामले प्रसिद्ध रहेको यो बजार विशेषगरी क्षेत्र नं. २ र बारपाक, लाप्राक, गुम्दादेखि ग्राहकको केन्द्र थियो । राजमार्ग खुलेपछि अझै एघारकिलोबाट क्षेत्र नं. २ जाने सहायक राजमार्ग सञ्चालन भएपछि यो बजारको चमकतामा केही कमी आएको छ ।
व्यापारिक केन्द्रका हिसाबले गिह्रावट आएपनि बजार र बजारबासीको सुविधालाई ध्यानमा राखी गोरखा नगरपालिकाले यो बजारमा सडक बत्ती जडान ग¥यो । झण्डै दुईबर्षसम्म सडक बत्तीले बजार झिलिमिलि पनि भयो । तर पछि टोल विकास संस्थाको अकर्मण्यताले यहाँ बत्ती बल्न छोड्यो ।
विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने महशुल तिर्न नसकेपछि प्राधिकरणले सडक बत्तिको लाइन काटिदिएको छ । बिगत दुईबर्षदेखि महशुल तिर्न नआएको र सम्पर्कमा समेत नआएकाले लाइन काटिएको प्राधिकरणको तर्क छ ।
नगरपालिकाको बजेटबाट गत २०७५ सालदेखि यहाँ सडक बत्ती जडान कार्य सुरु भयो । त्यसपछि त्यही बर्षदेखि सडक बत्ति बालिएको थियो । सडक झिलिमिलि हुन थालेपछि बजारबासी खुशी हुने स्वभाविकै भयो । तर उनीहरुको खुशी लामो समयसम्म टिकेन । अर्थात अहिले ती बत्ती दिउसो मात्र देखिन्छन्, राति देखिँदैनन् । नगर झिलिमिलि बनाउने उनीहरुको सपना दुई बर्ष पनि नबित्दै तुहियो ।
भनिन्छ नि, कुनै पनि कामको थालनी गर्न बरु त्यति कठिन हुन्न, जति निरन्तरता दिन हुन्छ । केही मिहिनेत गरेपछि कुनै नयाँ सिर्जना हुन्छ । तर त्यो मिहिनेतलाई निरन्तरता दिन गाह्रो हुन्छ, जसले गर्दा नयाँ कामको आयू चीर हुन सक्दैन । निरन्तरताका लागि त निरन्तर पछ्याइरहनु पर्छ । त्यसैले स्थानीय टोल विकास संस्थाले त्यस बत्तिलाई पुन झिलिमिली बनाएर बजारबासीको सपनालाई सार्थक तुल्याऊ ।




