
चुनावअघि पहिलो चरणको मुआब्जा बाँड्ने बूढीगण्डकी आयोजनाको तयारी
बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा बितरणको काम चुनावअघि सुरु गर्ने तयारी भएको छ । आयोजनाको वातावरण, मुआव्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाई कार्यालयका अनुसार अबको एकसाताभित्र पहिलो चरणको मुआब्जा बिस्थापितको खातामा पठाईनेछ ।
‘हामीले तयारी गरिरहेका छौँ, तथ्याङ्क प्रमाणिकरणको कामले समय लागेको छ’, आयोजना इकाइ प्रमुख जगतकुमार श्रेष्ठले भने, ‘फिल्डबाट ल्याएको बिवरण रुजु गर्ने, बिवरण अनुसार मुआब्जा रकम निकाल्ने काम भईरहेको छ ।’ एकै ब्यक्तिको घर, गोठ, अन्य संरचना, फलफुल, बोटबिरुवा धेरै भएकाले रुजु गर्न समय लागेको उनले बताए ।
चुनावअघि पहिलो चरणको रकम निकासा हुने र बाँकी हरेक हप्तादिनको बिचमा मुआव्जा बितरण गर्ने योजना रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । ‘यो वर्ष मुआब्जा बितरण गर्न इकाईसँग छ अर्व भन्दाबढि रुपैयाँ छ । अपुग रकम माग गरेर पनि मुआब्जा धामाधम बितरण गरिने उनले बताए ।
कम्प्युटर प्रणालीबाटै अहिले रुजु गर्न मिल्ने गरी सफ्ट्वेयरमा अपलोड गरिएको छ । गोरखा र धादिङतर्फ गरी करिब ६ हजार वटा निवेदन संकलन भएको आयोजना कार्यालयले जनाएको छ । मुआब्जा निर्धारण भएसँगै कार्यालयले मुआब्जा पाउन योग्य ब्यक्तिहरुलाई तत्काल निवेदन पेश गर्न भनेको थियो । ‘अझै केहीले पेश गर्न बाँकी छ’ इकाई प्रमुख श्रेष्ठले भने । अहिले भाडामा लिएका जग्गाको संरचना, सरकारी जग्गा भएका, नखुलेका जग्गाका संरचनाको मुआब्जा कसरी दिने भन्ने समस्या आयोजना कार्यालयलाई परेको छ ।
जग्गाको मुआब्जा लिएको खातामा रकम जम्मा गर्ने वा नयाँ खाता खोल्न लगाए मुआब्जा दिने निर्णय भने जिल्ला मुआब्जा निधारण समितिले गरिसकेको छैन । सर्वसाधारणले यस अघि जग्गाको मुआब्जा प्रयोजनका लागि खोलिएको खातामा मुआब्जा रकम दिनुपर्ने माग गरेका छन् ।




