
जन्ती बोकेको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यू(नामसहित)
बेहुली लिएर गोरखाबाट चितवन जाने क्रममा जीप दुर्घटना हुँदा तीन जना जन्तीको मृत्यु भएको छ । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा सोमबार साँझ साँढे चारबजे भएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप दुर्घटनामा तीनजनाको मृत्यू भएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
मृत्यू हुनेमा बारपाक सुलीकोट गाउँपालिका ६ चनौटेका ५० बर्षका देवीप्रसाद पोखरेल, लम्जुङ दुराडाँडा घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने ५१ बर्षका कमल न्यौपाने र कावासोती १४ का ८० बर्षका उत्तरकुमार सिग्देल रहेको एसपी खनालले बताए ।
घटनास्थलमा रहेका लक्ष्मण देवकोटाका अनुसार घाइते तीनजना जीप खसेको ठाउँबाट हिँडेर यथास्थानमा आएका छन् । अबस्था सामान्य छ ।
प्रहरीका अनुसार चालकले ओह्रालोमा जीप स्टार्टमा राखेर यात्रु चढाउन थालेको तर आफूभित्र नबस्दा जीप गुडेर भीरबाट करिब दुईसय मिटर तल खसेको थियो ।
साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट डिएसपी लीलाराज लामिछाने नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । चालक घनश्याम काफ्ले प्रहरी नियन्त्रणमा रहेका छन् ।




