| आइतवार, कार्तिक २२, २०८३

sungur

गोरखामै माझी उत्थानको बजेटले सुंगुर काटेर भोज !

दरौँदी ः स्थानीय तहले लक्षित बर्गको कार्यक्रम अन्तर्गत माझी उत्थान कार्यक्रमको बजेट भोजभतेर गरेर खर्च गरेको पाइएको छ । गण्डकी गाउँपालिका ८ माझीटारका लागि बिनियोजित ५५ हजार रुपियाँले सुँगुर काटेर भोजभतेर गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।
रकम भुक्तानीका लागि माझी उत्थान समितिका अध्यक्ष रमेश माझीले ५५ हजार रुपियाँको बिल पेश गरेपछि सो रहस्य खुलेको गाउँपालिका अध्यक्ष रानाले बताए । अध्यक्ष माझीको साथमा वडा नं. ८ का अध्यक्ष रामप्रसाद रेग्मी पनि बिल पास गराउन आएका उनले बताए । ‘भुक्तानी दिनुहोला भनेर वडा कार्यालयको सिफारिस सहितको बिल आएको थियो तर मैले पास नगरी फर्काइदिएँ’, अध्यक्ष रानाले भने, ‘माझीउत्थान भनेपछि त जनचेतना कार्यक्रम, तालिम आदि हुनुपर्ने सुँगुर काटेको, भोजभतेरको बिल पो आयो । भोज खुवाएर उत्थान हुन्छ ? त्यसैले मैले फर्काइदिएँ ।’ गाउँपालिकाले वडाको सिफरिस फिर्ता गरेपछि वडा कार्यालयले खर्चको शीर्षक परिवर्तन गरेको छ । माझी प्रशिक्षण कार्यक्रमको नाममा अर्को बिल बनाउने तयारी गरेको बताइएको छ । ‘माझी उत्थानको बजेटले भोज भतेर खुवाइएको होइन’, वडाअध्यक्ष रेग्मी भन्छन्, ‘भोजभतेरको बिलमा गाउँपालिका बाट पैसा लिएको भए पो त्यसो भन्न मिल्छ । हामीले सो शीर्षकको बिलको भुक्तानी नै लिएको छैन ।’ तालिम, प्रशिक्षण गरेर ५५ हजार रुपियाँ खर्च गरिएको उनले बताए । वडा अध्यक्ष रेग्मीले माझीहरुको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको भन्ने बिल बनाएर पेश गर्ने जनाए ।
यसअघि पनि लक्षित बर्गको बजेट खर्चको बिषयमा साबिक गाविस तथा जिविसहरुले पनि अपरिपक्कवता देखाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्