
गुम्दामा मकै र आलुमा किराको प्रकोप, किसान चिन्तित
गोरखाको धार्चे गाउँपालिका ५ गुम्दा लगायतका आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ । यहाँका मुख्य खाद्यान्न बालीका रुपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् ।
आलु र मकैको बोट किराले सखाप बनाएको स्थानीय सन्ध्या गुरुङले बताइन् । ‘यसपाली आलु र मकै केही छैन, किराले सबै खाइसक्यो, खेतबारी नै खाली हुन लाग्यो’ गुरुङले भनिन ‘आलुको बोटमा डाँट मात्रै छ, मकैको पनि त्यस्तै छ ।’ सबै किसानको बारीमा किरा फैलिएको उनले बताईन ।
केही समय अघि मकै गोडेमेल गरेका किसान किराले सबै सखाप बनाएपछि निराश छन् । केही ठाउँमा भने बिरुवा किराले खाएपछि किसानले गोडमेलमा चासो दिन छाडेका छन् । एउटै बोटमा पाँच÷सात वटा सम्म किरा भेटिएको गुरुङले बताईन ।
बङ्स, कोराजुङ, काशीगाउँ, माछाखोला लगायत गाउँमा किराले धेरै सताएको गुम्दाका कर्णबहादुर गुरुङले बताए । अघिल्लो वर्षमा ६÷७ मुरी आलु फलेको थियो । आम्दानी राम्रो भएको थियो । तर अहिले किरा लागेकाले २ मुरी पनि नहोला जस्तो छ’ उनले भने । यहाँ धान खेती हुँदैन । स्थानीयको मुख्य बाली आलु, मकै हो । मूख्य बालीमै क्षती पुगेपछि गुजारा चलाउनै मुस्किल हुने उनले गुनासो गरे ।
यहाँ फागुनमा रोपेको मकै भदौमा र मंसिर अन्तिम तथा पुसमा लगाएको आलु जेठमा भित्र्याईन्छ । धार्चेमा जस्तै अन्यत्र पनि यस्तो समस्या देखिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । ‘गोरखाका धेरै पालिकाहरुमा आलु र मकै किराको प्रकोप देखिएको छ’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने ‘धेरै ठाउँमा कार्यालयबाट औषधी पनि पठाइरहेका छाँै ।’
धार्चेको गुम्दा लगायतका ठाउँमा बर्खे सिजनमा लगाएका आलुमा लुपर किराले धेरै समस्यामा पारेको उनले बताए । अचानक यस्तो समस्या देखिएको बताउदै आलु जोन घोषण गरेको क्षेत्रमाहरु जोन मार्पmत नै औषधी वितरण गर्ने काम भइरहेको उनले बताए । यसका लागि क्लोरो साइपर औषधी दुई लिटर पानीमा दुई एमएल हालेर छर्न सकिनेछ ।
गोरखामा विगत दुई तिन वर्ष देखि नै यो समस्या रहेको उनले बताए । धेरै रोपनी क्षेत्रफलमा किराले सखाप परेको खण्डमा सम्बन्धित पालिकाको कृषि शाखाबाट कृषि ज्ञान केन्द्र गोरखामा निवेदन दिन उनले आग्रह गरे । आरुघाट, बारपाक सुकिलोट, सिरानचोक र अजिरकोट लगायतका क्षेत्रमा पनि आलु र मकैको बोटमा किराको प्रकोप देखिएको छ ।




