
मतदान केन्द्र रहेको विद्यालय तीन दिन बन्द हुने
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्नका लागि तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरू तीन दिन बन्द गर्न आग्रह गरेको हो ।
मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यसैगरी निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालयको भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर वैशाख २८ गतेदेखि ३० सम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने जनाएको छ ।




