| सोमवार, कार्तिक २३, २०८३

गोनपाद्वारा गोरखा क्याम्पस र द्रब्यशाहका ५६ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण

गोरखा नगरपालिकाले ५६ जना विद्यार्थीलाई छात्रवृत्ती बितरण गरेको छ । गोरखा क्याम्पस गोरखाका २३ जना र द्रब्यशाह बहुमुखी क्याम्पसका ३३ जना विद्यार्थीलाई छात्रवृत्ती बितरण गरिएको हो ।


नगरक्षेत्र भित्र रहेको क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ती दिइएको कार्यबाहक नगरप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन । स्नातक तहमा अध्ययनरत ४७ जनालाई जनही आठ हजार नौ सय, स्नातकोत्तर तहमा अध्ययनरत नौ जनालाई नौ हजार ७५ रुपैयाँका दरले छात्रवृत्ती दिइएको उनले बताईन । चार लाख ९९ हजार नौ सय ७५ रुपैयाँ छात्रवृत्ती बितरण गरिएको नगरपालिकाले जनाएको छ ।


विद्यार्थीहरुलाई कार्यवाहक मेयर बिनाकुमारी श्रेष्ठले छात्रवृत्ती बितरण गरेकी हुन् । ‘गरिवीकै. कारण विद्यार्थीले पढाईबाट बञ्चित हुनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ‘यो सानो सहयोगले विद्यार्थीको शिक्षाको गुणस्तर बढाउन पनि टेवा पुग्न सक्छ ।’

गोरखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा कार्यवाहक नगर प्रमुख श्रेष्ठ, शिक्षा शाखा प्रमुख चन्द्र वहादुर खड्का, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, गोरखा क्याम्पसका विद्यार्थी कल्याण विभागका प्रमुख राजकुमार श्रेष्ठ र विद्यार्थी प्रमिला परियार लगायतले धारणा राखेका थिए ।


कार्यक्रममा बोल्नेहरुले भावी दिनमा यस कार्यक्रमको निरन्तरता एवं क्याम्पसका विद्यार्थी सहायता लक्षित गतिविधी गर्न सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस्