
गोरखाका सबै मतदान केन्द्रमा ५८ थरिका निर्वाचन सामग्री पठाउने तयारी
गोरखाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । दुई सय १५ मतदान स्थल र तीन सय ११ मतदान केन्द्रमा ५८ थरिका निर्वाचन सामग्री पठाउन ‘सटिङ’ को काम भईरहेको कार्यालय प्रमुख टेकबहादुर कोईरालाले बताए ।
छेकबारमा प्रयोग हुने सामग्री, मत पेटिका, परिचय पत्र, स्वस्तीक छाप लगायत रहेका छन् । गोरखाका लागि आवस्यक निर्वाचन सामग्री सबै जिल्ला आईसकेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई लाख ४१ थान मतपत्र आइपुगेको जनाइएको छ ।
आयोगले जिल्लाको मतसंख्या भन्दा १० प्रतिशत बढी मतपत्र पठाएको हो । हरेक मतदान केन्द्रलाई चाहिने सामग्रीको छुट्टा छुट्टै प्याकिङ गरेर तयारी अवस्थामा राखिनेछ । चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबास बाहेकका वडामा हेलिकप्टरबाट मतपेटिका ढुवानीको तयारी भईरहेको छ ।
दुर्गम भेग भएकाले हेलिकप्टरबाट ढुवानी गर्न गृहमन्त्रालय सँग समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ती ठाउँबाट मतपेटिका ल्याउन भने २०७४ को निर्वाचनमा पनि हेलिकप्टर प्रयोग भएको थियो । २२ देखि २५ गते सम्म मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिएर संम्बन्धीत मतदान केन्द्रमा खटाईनेछ । एक हजार पाँच सय भन्दाबढि कर्मचारी खटिनेछन् ।




