| मङ्लबार, कार्तिक २४, २०८३

फड्को मार्दै गोरखा अस्पताल, १० जना विशेषज्ञ चिकित्सकद्वारा नियमित सेवा


भौतिक पूर्वाधार, साधनस्रोत, जनशक्ति र गुणस्तरी सेवाले बिरामीको मन जित्न थालेपछि गोरखा अस्पतालमा बिरामी खचाखच हुन थालेका हुन् ।
दुई महिनाअघिको अबस्थासित तुलना गर्दा अहिले बिरामीको संख्या दोब्बर बढेको मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठ बताउँछन् । ‘फागुनमा बिरामीको संख्या दैनिक सरदर एकसय जना हुन्थ्यो । अहिले दुईसय भन्दा धेरै छन् । कहिलेकहीँ त दुईसय ९७ जना पुगेको रेकर्ड पनि छ ।’, डाक्टर श्रेष्ठ भन्छन्, ‘त्यतिबेला पाँचजना मात्र कन्सल्ट्याण्ट डाक्टरहरु हुनुहुन्थ्यो । अहिले १० जना कन्सल्ट्याण्ट हुनुहुन्छ ।’ गुणस्तरीय सेवाले बिरामी सन्तुष्ट हुन थालेपछि अहिले बिरामी रिफर दर पनि स्वाट्टै घटेको छ ।

‘कुनैबेला रिफरल कार्ड बनाउन मात्र डेस्कमा बसेको जस्तो लाग्थ्यो तर अहिले दैनिक सरदर एकजना मात्र रिफर हुने गरेका छन् । त्यो पनि घटाउने प्रयासमा छौँ’, उनले भने ।

स्वास्थ्य मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान र गोरखा अस्पतालको त्रिपक्षीय सम्झौतामा अहिले अस्पतालमा छात्रवृत्ति करारका चिकित्सकले सेवा दिइरहेका छन् । मेडिकल अधिकृतको संख्या भने दयनीय छ । ‘सुखद मात्र छैन, अस्पतालको केही पक्ष दुखद पनि छ’, उनी भन्छन्, ‘मेडिकल अधिकृतको जनशक्ति कम्तिमा छ जना आवश्यक छ तर जम्मा दुई जना मात्र हुनुहुन्छ ।’ दुईमध्य पनि एकजना कोभिड करारका हुन् ।

गोरखा अस्पतालमा अहिले शल्यक्रिया गराएर सुत्केरी गराउने सेवा पनि सुचारु भएको छ । भौतिक तथा जनशक्ति अभावले केही बर्ष रोकिएको यो सेवाले फेरि निरन्तरता पाउन थालेको छ । ‘सुत्केरी गराउनका लागि ‘इलेक्टिभ अपरेशन’ सेवा आजैबाट सुरु भएको छ’, बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘सुत्केरीका आफन्तलाई मिल्दो समूहको रगतको व्यवस्था गर्न लगाएर अपरेशन गर्छौँ । अब सुत्केरी गराउनकै लागि चितवन, काठमाडौँ, पोखरा रिफर गर्न पर्दैन ।’

नौबर्षअघि मासिक करिब १३० जना सुत्केरी सेवा लिन आउँथे । तर आर्थिक बर्ष २०७७÷०७८ मा मासिक करिब ३० जना मात्र आए । यो संख्या बढेर दुई महिना यता मासिक करिब ४५ जना महिला सुत्केरी सेवा लिन यहाँ आउँछन् । ‘अपेक्षाकृत नभए पनि यो संख्या प्रगतिन्मुख हो’, ढकालले भने ।

अहिले अस्पतालमा प्रशुती तथा स्त्रीरोग विशेषज्ञ तीनजना, फिजिसियन एकजना, सर्जन दुईजना, बालरोग विशेषज्ञ एकजना, मानसिक रोग विशेषज्ञ एकजना, एमडिजिपी एकजना र एकजना एनेस्थेसियोलोजिस्टले सेवा दिइरहेको उनले बताए ।

गोरखा अस्पतालमा अपरेशन सेवा सुरु

अस्पतालले १० बर्षसम्म रोकिएको एपेण्डिसाइटिसको अपरेशन सेवा पुन सुरु गरेको छ । स्तरीय अपरेशन थिएटर, दक्ष सर्जन र एनेस्थेस्थियासिस्टको जनशक्तिबाट सेवा सुरु भएपछि हर्निया, हाइडूोशीलको पनि शल्यक्रिया सेवा सुरु भएको मेसु श्रेष्ठले बताए ।
पाठेघर झिकेर फाल्ने, लेप्रोस्कोपी, भ्यासेक्टोमी, बायोप्सी झिकेर परीक्षण गर्न पठाउने सेवा पनि छिट्टै सुरु गर्ने उनले बताए ।

‘धेरै मिहिनेत गरेका छौँ । अब नागरिक समाजबाट पनि सकारात्मक सहयोग पाएमा अस्पताललाई धेरै स्तरोन्नति गर्ने जोश र जाँगर छ’, उनले भने, ‘भौतिक पूर्वाधार, दक्ष जनशक्ति भएर मात्र पुग्दैन । स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण चाहिन्छ । सबैको साथ र सहयोग चाहिन्छ । हाम्रो होस्टेमा हैँसे भयो भने गोरखा अस्पताललाई उदाहरणीय बनाउनेछौँ ।’

अस्पतालले अहिले फिजियोथेरापी र मानसिक रोगको पनि उपचार सेवा सुरु गरेको छ । नियमित सेवा समयभन्दा पछि पनि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा दिन सुरु गरेको छ । ‘तीनमहिना अघिदेखि हामीले अतिरिक्त समयमा पनि विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा(इएसएस सेवा) सुरु गरेका छौँ’, उनले भने, ‘इएचएसमा अपेक्षकृत बिरामी आउने गरेका छन् ।’

अस्पताल एम्बुलेन्स सेवा छैन । ‘अहिले भएको टाइप सी त प्यासेण्ट ट्रान्सपोर्ट भेइकल मात्र हो, एम्बुलेन्स भन्न मिल्दैन’, उनले भने, ‘टाइप बी र टाइप एलाई मात्र एम्बुलेन्स भन्न मिल्छ । दुखका साथ भन्नुपर्छ हामीसित त्यस्ता एम्बुलेन्स छैनन् । यो पहाडी जिल्ला भएकाले अर्थोपेडिक स्पेशलिस्ट अनिबार्य छ तर अभाव छ ।’ अस्पतालमा पर्याप्त पानीको सेवा नभएको भन्दै उनले हरेक समस्या समाधान गर्दै सेवा सुधार गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्