
भोट माग्दै ८२ बर्षीया उम्मेद्वार कालीमाया
धार्चे गाउँपालिका ७ लापुबेशीकी ८२ वर्षीया कालीमाया गुरुङलाई अहिले घरदैलो गर्न भ्याइनभ्याइ छ । बिहान सातबजे घरबाट निस्केकी उनी १० बजेतिर घरमा आइपुग्छिन् । ‘खाना पकाई, खाईवरी फेरि १२ बजे घरदैलोमा निस्कन्छु । दिनभर दाजुभाइ, दिदीबैनीसित भेटघाट गरेर साँझ ६ बजेतिर मात्र घर फर्किन्छु’, उनी भन्छिन् ।
उमेरले आठ दशक काट्दा पनि उनको जोश, जाँगरमा कुनै थकान र शिथिलता छैन । आसन्न निर्वाचनमा महिला सदस्य पदमा उनले उम्मेद्वारी दर्ता गराएकी हुन् ।
जनप्रतिनिका लागि उम्मदे्वारी दिने उनी जिल्लाकै जेष्ठ नागरिक हुन् ।
पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेकी उनलाई जीवनमा एकफेर जनप्रतिनिधि हुने ठूलो धोको छ । ‘मैले पन्चायत कालदेखि राजनीति सुरु गरेको हो’, उनी भन्छिन्, ‘पार्टीको धेरै कार्यक्रमहरुमा सहभागी भएँ । समाजसेवाको काममा पनि धेरै हिँडियो । अहिलेसम्म कुनै पदमा दावी गरेको थिइन् । अव बुढेसकाल भयो, त्यसैले एउटा वडा सदस्य हुने धोको छ ।
’ २०७४ को निर्वाचनमा पनि उनलाई महिला सदस्य बन्ने अफर थियो, तर इन्कार गरेकी थिइन् । ‘तर डाँडामाथिको जून, अर्को पटक के हो, के हो भनेर यसपालिचाहिँ चुनावमा उठेको छु । सबैले भोट दिन्छु भनेका छन् । जित्छु’, उनले भनिन्, ‘पार्टीले पनि लापुवेशीमा भोट माग्ने जिम्मा दिएको छ । लापु गाउँमा उनीहरु नै हिँड्छन्, म वेशीमा हिँड्छु ।’
महिला सदस्यमा धार्चे गाउँपालिकाकी महिला संघकी अध्यक्ष सिर्जना गुरुङ र क्षेत्रीय प्रतिनिधि कान्छी गुरुङले पनि आकांक्षा राखेका थिए तर कालीमायाको तीब्र इच्छाका सामु उनीहरु ‘ब्याक’ भएका थिए ।
२०२४ सालमा काशिगाउँको डाँडाबाट सुख्खा पहिरो झरेर बूढीगण्डकी थुनियो । बाढी पिडितलाई सम्बोधन गर्न गिरिजा माछाखोला आएका थिए । उनैको भाषणबाट कालीमाया झन् धेरै प्रभावित भएर राजनीतिकमा सक्रिय बनेको सम्झन्छिन् । उनले कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, निवर्तमान जिल्ला सभापति हरि घले, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङसँग निकत्तम सम्बन्ध रहेको उनी बताउँछिन् ।
आगामि निर्वाचनमा आफ्नो जितका सम्भावना प्रवल रहेको बताउदै आफुलाई भोट हालिदिन घरघरमा भोट माग्दै हिडिरहेको उनले बताइन् । चुनावमा जित हासिल गरे जनताको दुख सुखमा सधै सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।




