| सोमवार, कार्तिक २३, २०८३

सौहार्द्रपूर्ण चुनाव, सबैको जिम्मेवारी

समय बदलिएसंगै मान्छे पनि सुसंस्कृत भएका छन् । चुनावी माहोल पनि पहिले भन्दा सौम्य, शान्त र सौहाद्र्र देखिएको छ ।
पहिले गाउँघरमा चोर लाग्थे । पकेटमार, डाँका, डकैती गर्नेहरुको बिगबिगी हुन्थ्यो । लुटपाट हुन्थ्यो, झैझगडा, कुटपिटका घटना धेरै हुन्थे । जात्रामेलामा गाउँगाउँको ‘ग्याङफाइट’ हुन्थ्यो । बर्ष भरिको रिसराग पनि मेला, जात्रामा पोख्ने गर्थे ।

तर अहिले धेरै कुरामा सुधार आएको छ । मान्छेको स्वभावमा, जीवनशैलिमा पनि परिवर्तन आएको छ ।

चुनावका बेला ‘बुथ क्याप्चर’को त्रासदी व्यप्त हुन्थ्यो । चुनाव प्रचारप्रसारमा अवरोध हुन्थ्यो । मानवअधिकार आयोगका टोली हप्तौँदेखि गोरखामा शिविर खडा गरेर बस्थे । कैयौँ बुथमा मतदाता जानै पाउँदैथे । उम्मेद्वार स्वयं नै मतदान गर्न जान पाउँदैनथे ।
तर अहिले त्यस्तो छैन । सबै पार्टीहरु परस्पर तालमेल गर्न उद्दत छन् । अस्वस्थ प्रतिस्पर्धा गर्न होइन, मिलेर चुनाव लड्न होड छ । यसले आसन्न चुनाव सौहाद्र्र हुनेछ भन्ने संकेत गर्छ ।

राजनीतिमा हारजीत हुन्छ, जित्नेले राज गर्छ, हार्नेले प्रतिपक्षमा रहेर आलोचनात्मक सहयोग गर्छ । यो लोकतान्त्रिक परिपाटी हो । यसमा पारंगत भइसकेका दलहरु अहिले द्वन्द्व, कटुता र वैमनस्य फैलाउन चाहँदैनन् । अहिलेका राजनीतिक दलका नेता कार्यकर्ता देश बुझेका विदेश बुझेका, प्रविधि बुझेका, विश्वभर भइरहेका चुनावी अभ्यासहरुको अध्ययन गरेका छन् । कार्यकर्ता भड्काएर संकीर्ण स्वार्थ पूरा गर्नतर्फ अहिलेका नेता कार्यकर्ता लाग्दैनन् ।

धेरै नकारात्मकता हटे पनि पैसाले भोट किन्ने, रक्सी र मासु खुवाएर प्रभावित पार्ने जस्ता घटिया चलखेल भने हटेको छैन, बढेको छ । अझै बाँकी रहेका नकारात्मक पाटोलाई सच्याउँदै चुनावलाई अझै सौहार्द्र बनाउनु हामी सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्