| सोमवार, कार्तिक २३, २०८३

उल्लासमय उम्मेद्वारी, शान्तिपूर्ण निर्वाचनको शुभ संकेत

लोकतन्त्रको सौन्दर्य भनेको निर्वाचन प्रणाली हो । पहिलो हुने पार्टीले शासन गर्ने पद्धतिमा यो आधारित छ ।

त्यही व्यवस्थाअनुसार आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । जसका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भयो । मनोनयन दर्ता गर्ने कार्यक्रम देख्दा दलहरुमा ठूलो उत्साह देखिन्छ । साना पार्टीहरुले पनि शान, मानका साथ उम्मेद्वारी दर्ता गरे । स्वतन्त्र उम्मेद्वारहरुले पनि उच्च आत्मविश्वासका साथ उम्मेद्वारी दर्ता गरे ।

ठूला पार्टीहरुले बाजागाजासहितको ¥याली निकाले, जयजयकार गरे, जिन्दावादका नाराले गुञ्जयमान गरे । नाचगान गरे, हर्षोल्लासका साथ र नेताहरुले उम्मेद्वारी दर्ता गरे ।

राजनीतिमा हारजीत हुन्छ, जित्नेले राज गर्छ । यो लोकतान्त्रिक व्यवस्थाको स्वरुप हो । यो नौलो कुरा होइन । त्यसैले हारजीतलाई द्वन्द्व र वैमनस्यको विषय बनाउनु हुँदैन ।

उम्मेद्वारी दर्ताका बेला उम्मेद्वारहरुले एक आपसमा गरेको व्यवहार प्रसंसनीय थियो । उनीहरुको मुस्कानसहितको परस्परको अभिवादन देख्दा उम्मेद्वारहरु स्वस्थ प्रतिस्पर्धा गर्दैछन् भन्ने संकेत देखिन्छ । जित्नेहरु नमात्तिने, हार्नेहरु नआत्तिनेमा उनीहरु अभ्यस्त छन् भन्ने उनीहरुको भावभंगीले दर्शाउँथ्यो ।

बिगतका केही चुनाव तनावपूर्ण थिए । प्रचारप्रसारमा रोकावट थिए, मतदानस्थल कब्जा हुन्थे, उम्मेद्वार स्वयं भोट हाल्नबाट बञ्चित भएका घटना थिए । तर अहिले समय बदलिएको छ । सबै पार्टी लोकतान्त्रिकरण भएका छन् । त्यतिबेला जस्तो अहिले कसैमा अमानवीय स्वभाव देखिँदैन । स्वस्थ, सभ्य र शान्त स्वभाव पार्टीको नेता कार्यकर्तामा देखिन्छ ।
उम्मेद्वारी दर्ता गर्दाको उल्लासमय वातावरण देख्दा यो चुनाव शान्त हुनेछ, भयरहित हुनेछ, सभ्य हुनेछ भन्ने आशा र विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्