
गोनपा मेयर टिकट विहान श्रेष्ठलाई, दिउँसो पन्तलाइ
विश्वदेव श्रेष्ठले पाएको गोरखा नगरपालिकाको मेयरको टिकट खोसेर नेपाली कांग्रेसले राजनराज पन्तलाई दिएको छ । टिकट पाएपछि उम्मेद्वारी दर्ता गराउने तयारी गरिरहेका श्रेष्ठको टिकट रद्ध गरी कांग्रेसको केन्द्रीय संसदीय बोर्डले पन्तलाई टिकट दिएको हो ।
पार्टीको गण्डकी प्रदेश संसदीय बोर्डले श्रेष्ठको पक्षमा बिहान नौ बजे निर्णय गरेको थियो । सोही निर्णयअनुसार टिकट पाएपछि मनोनयन दर्ता गराउन जाने तयारी गर्दागर्दै असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टीको जिल्ला कार्यसमितिको कार्यालय र नगर समितिको कार्यालयमा तालाबन्दी गरी धर्ना दिएको थियो ।
आन्दोलित युवा कार्यकर्ताले फोटो खिचाउन लागिरहेका बेला उम्मेद्वार श्रेष्ठमाथि हातपात र दुव्र्यबहार समेत गरेको थियो । प्रदेश संसदीय बोर्डले नातावाद, कृपावादको आधारमा सबैभन्दा कमजोर दावेदार र कान्छो प्राथमिकतामा सिफारिस भएको व्यक्तिलाई टिकट दिइएको उनीहरुको आरोप थियो । प्रदेश समितिले गोरखाको धरातलीय यथार्थ र चुनौतिपूर्ण बास्तविकता नबुझी प्रतिस्पर्धा गर्न कमजोर उम्मेद्वारलाई टिकट दिएको उनीहरुको तर्क थियो ।
यही तनाबका बीचमा कांग्रेसको केन्द्रीय समितिले श्रेष्ठको टिकट रद्ध गरी यसअघि मेयर पद सम्हालिसकेका राजनराज पन्तलाई टिकट दिएको हो ।
टिकट कसरी खोसियो र कसरी नयाँ व्यक्तिलाई दिइयो भन्ने बारे गण्डकी प्रदेश समितिका महामन्त्री किरणबाबु श्रेष्ठले अनभिज्ञता प्रकट गरे । ‘प्रदेशको संसदीय बोर्डले मेयरमा विश्वदेव श्रेष्ठ र उपमेयरमा मसलीमाया थोकरको नाउँमा निर्णय गरी केन्द्रीय संसदीय बोर्डमा पठाएको थियो । हामीसित त्यही माइन्यूट मात्र छ । अर्को निर्णय कसरी भयो हामीलाई थाहा छैन । सभापतिजीलाई सोध्नुस्’, श्रेष्ठले भने ।




