| मङ्लबार, कार्तिक २४, २०८३

लाप्राकसम्म नियमित बस सेवा सुरु

गोरखा सदरमुकामदेखि लाप्राकसम्म नियमित बस सेवा संचालन भएको छ । आइतबारबाट नियमित रुपमा लाप्राकसम्म बस सेवा सुरु गरिएको गोरखा दरौदी यातयात कम्पनी प्रालिका संचालक अन्जनबाबु खत्रीले बताए ।

दुई महिनाअघि नै बस सेवा संचालन गर्ने निर्णय भएपनि मौसम र पूर्वाधार निर्माण नहुँदा ढिलो भएको उनले बताए । अहिले बाटो सहज भएको र मौसमले साथ दिएकाले लाप्राकसम्म बस सञ्चालन गरिएको छ । आइतबार दिउसो १५६३ नम्बरको बस लाप्राक पुगेको थियो ।
अब गोरखाबाट हरेक दिन बिहान सातबजे लाप्राक र गोरखा सदरमुकामबाट एकसाथ बस छुट्छन् । ‘समिति अन्तरगत रहेका बसहरु रोटेशन अनुसार पालैपालो लाप्राक जान्छ’, उनले भने । बाटो सहज भएमा र मौसमले साथ दिए बाह्रै महिना बस सेवा संचालन हुने खत्रीले जानकारी दिए । गोरखा बजार देखि बारपाक सम्म हाल भाडा दर चारसय ६० रुपैया निर्धारण गरिएको छ ।

बारपाकदेखि लाप्राकसम्मको भाडादर एकसय ५० देखि एकसय ७५ सम्म पुग्न सक्ने उनले बताए । पहिलो पटक बस पुगेकाले भाडा निर्धारण नभएको उनको भनाइ छ ।

लाप्राकसम्म बस सेवा संचालन भएसँगै स्थानीयहरु खुसी भएका छन् । लाप्राकमा बस सञ्चालन भएसँगै स्थानीयलाई आउजाउ गर्न सहज हुने शिक्षक सागर गुरुङले बताए । ‘गाउँसम्म बस नआउँदा स्थानीयबासी बस चढ्नका लागि बिहान चारबजे हिडेर बारपाक पुग्नुपर्ने अवस्था थियो’, उनले भने, ‘अब यहाँका स्थानीयलाई धेरै सहज हुने भयो । लाप्राकदेखि गोरखा सदरमुकामसम्म भाडा पनि कम हुने भयो ।’ यसअघि जीपबाट महङ्गो भाडा तिरेर आउजाउ गर्दै आएका लाप्राकीलाई कम भाडामा बस बस सेवा सुरु भएसँगै सजिलो भएको छ ।

धार्चे गाउँपालिकाको समन्वयमा बस लाप्राक सम्म पुगेको हो । नियमित बस सेवा सुरुभएसँगै स्थानीयहरुले सदरमुकाम लगायत विभिन्न स्थानमा आउजाउन गर्न धेरै सहज र सजिलो भएको वडा अध्यक्ष राज गुरुङले जानकारी दिए ।

लाप्राकसम्म बस सेवा संचालन भएसँगै लाप्राक, गुम्दा र सिङ्लाका स्थानीयले पनि सहज सेवा पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्