
मेरो गोरुको बाह्रैटक्काले न ‘गठ’ न ‘बन्धन’
आसन्न स्थानीय तहको निर्वाचनमा गोरखाका राजनीतिक दल मिल्ने कि नमिल्ने अन्यौल छ । मेरो गोरुको बाह्रैटक्का गर्नाले शनिबार बिहान बसेको चार दलीय संयन्त्रको बैठक अब नबस्ने गरी सम्पन्न भएको थियो ।
त्यसपछि अपरान्ह कांग्रेस र माओवादी केन्द्रमात्र बैठक बसे । सो बैठकले नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र मिलेर जानेमा सहमति भयो । तर ‘हेभीवेट’ नेताकै जिल्लामा जसपा ‘रिङआउट’ हुनु असुहाउँदिलो हुने ‘केन्द्रीय दबाब’पछि सहमतिमा बिचलन आएको छ । अहिले फेरि दुई दल मात्र मिलेर जाने कि, चारै दल मिलेर जाने भन्ने ठेगान लाग्न सकेको छैन ।
आइतबारदेखि मनोनयन दर्ता सुरु हुँदैछ तर कहिले जसपा र एमाले बीचको तालमेलको चर्चा, कहिले कांग्रेस एमाले बीचको तालमेलको सहमतिले डेडलाइनभित्र मनोनयन हुने नि नहुने शंका छ ।
५० प्रतिशत कार्यकर्ता गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा र बाँकी ५० प्रतिशत बिपक्षमा छन् । गठबन्धनका पक्षधर पनि आफ्नोबाहेक अरु पालिका अर्को दललाई दिँदा खुशी हुन्छन्, आफ्नो पालिका दिनुपर्दा गठबन्धन भंग गर्न प्रेरित गरिरहन्छन् ।
जसले गर्दा जिल्ला नेतृत्वलाई कार्यकर्ताको चाप थेग्नै मुस्किल भएको छ । आफ्नो पालिका बिनाप्रतिस्पर्धा अर्को पार्टीलाई दिनुपर्दा कार्यकर्ताको चित्त दुख्नु स्वभाविक छ । कुनै पार्टीलाई चुनाव लड्दा जितिन्छ भन्ने निश्चित पनि छैन तर गठबन्धन नगरी एक्लै भिडौँ भन्ने आवाज बुलन्द गर्दैछन् कोही । यस्तै विविध धारणाले केही दिनदेखि सदरमुकाम अन्यौलग्रस्त छ ।
शनिबार भएको गठबन्धनको निर्णय मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबारसम्म जान पनि सक्छ, तुहिन पनि सक्छ ।
न गठ, न बन्धनका कारण नेता, कार्यकर्ता सबैमा अन्यौल छ । गठबन्धन भयो भने फिर्ता पो गर्नुपर्ने हो कि भन्ने आशंकाले मनोनयन दर्ता गर्न पनि उत्साह र जाँगर छैन ।




