| आइतवार, कार्तिक २२, २०८३

पहिरो फाल्दैमा बित्छ श्यामचेतबासीको दिन

हातमुख जोर्ने मकैबाली र कोदोको बिउ पहिरोले पुरेपछि आरुघाट गाउँपालिका १ श्यामचेतका किसान चिन्तित भएका छन् ।
निरन्तरको बर्षातपति गाउँमाथि बाट आएको पहिरोले करिब ३० घर किसानको रोप्ने बेला भएको कोदोको बिउ सखाप पारेको स्थानीय कर्ण लामाले जानकारी दिए । खानेबेला भएको मकै पनि पहिरोले पुरेको उनले गुनासो गरे । ‘हाम्रो लेकको ठाउँको मुख्य खेती भनेकै यही मकै र कोदो हो’, लामाले भने, ‘२० जनाको मक ैबारी लगेको छ । ३० जनाको कोदोको बिऊ पुरेको छ । यो बर्ष मकै भित्र्याउन पनि पाएनन्, कोदो रोप्न पनि पाएनन् ।’
पानी पर्न थालेपछि श्यामचेत भन्दा माथिको न्हेचेत डाँडाबाट निरन्तर पहिरो जाने गरेको उनले बताए । ‘दिनदिनै हाम्रो काम भनेकै कुलो काटेर पहिरो कटाउने हो । आज कुलो काट्छौं, भोलि फाल्छ । भोलि काट्छौं, पर्सि फाल्छ । यसरी पनि के साध्य लाग्छ र ?’, उनले भने, ‘जिल्लामा र गाउँपालिकामा पनि तारजाली माग गरेका थियौं, तर अहिले जसोतसो जोगिएर बस्नू मात्र भन्नुभएको छ । तारजाली दिने कुरा भएको छैन ।’
पहिरो गाउँभन्दा ५० मिटर नजिक आइसकेको स्थानीयको भनाइ छ । ‘पुरिने डरले सात घर त अन्तै सरिसके । १५० घरधुरी एकदम खतरामा परेको छ’, कर्मा भन्छन् ।
जिल्ला विपद व्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई भने गाउँलेलाई जोगाउन राजनीतिक दलहरुबाट भिन्नभिन्न सुझाव आएको बताउँछन् । ‘गाउँलेले तारजालीको माग गरेका छन् तर राजनीतिक दलका साथीहरुले भिन्नभिन्न सुझाव दिनुभएको छ’, उनले भने, ‘कुनै पार्टीले तारजाली दिनुपर्छ भन्नु भएको छ, कुनै पार्टीले अहिले अल्पकालीन रुपमा जोगाउने उपाय गरेर हिउँदमा दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्छ भन्नु भएको छ ।’ तत्कालका लागि टहरो बनाउन त्रिपाल वा अन्य सामग्री सहयोग गर्ने तर तारजाली भने बर्षात सकिएपछि दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्