
राष्ट्रनिर्माताको पनि सम्मान, आयआर्जन पनि वृद्धि
नेपाल एकीकरण थालनी गर्ने राष्टूनिर्माता पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरुले आफैँ पृथ्वीनारायण शाहको ‘मूर्ति’ बनाउन सुरु गरेका छन् । गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा महिलाहरुले सिप सिकेर माटोबाट ‘मूर्ति’ बनाउन थालेका हुन् ।
नेपाल एकीकरण सुरु भएको गोरखामा पृथ्वीनारायण शाहको इतिहास हेर्न र बुझ्न धेरै मानिस आउने गर्छन् । किताबमा पढेको इतिहासका बारेमा स्थलगत केही कुरा थाहा पाउन र गोरखा आउने चाहनाले शैक्षिक भ्रमण आउनेहरुको पनि सिजनमा लर्को लाग्छ । पृथ्वीनारायण शाहले कसरी नेपाल एकीकरण सुरु गरे, कस्तो दरबारमा बस्थे, उनको पालामा कस्ता सामग्रीको प्रयोग हुन्थ्यो भन्नेमा शैक्षिक भ्रमण आउने विद्यार्थीको मूख्य चासो रहन्छ । आन्तरिक र बाह्य पर्यटक पनि पृथ्वीनारायण शाह र नेपाल एकीकरण बारे धेरै चासो राख्छन् ।
सबैले चासो राख्ने र चर्चाका पात्र पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाउँदा पर्यटकले लैजाने सोचले महिलाहरुले यो सिप सिकेका हुन् । गोरखामा सरकारी तथा गैरसरकारी संघ संस्था, कार्यालयहरुले बिभिन्न कार्यक्रम गर्दा पाहुनालाई उपहार स्वरुप पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ दिने गर्छन । यसअघि बाहिरबाट खरिद गरेर ल्याउँदै बेच्ने गरिन्थ्यो । गोरखाको पहिचान पृथ्वीनारायण शाहको स्ट्याचु बाहिरबाट ल्याउनुपर्दा पैसा धेरै बाहिरिएको थियो । गोरखाको अपनत्व पनि कम हुन्थ्यो ।
गोरखामा महिलाहरुले आफैँ बनाउन थालेपछि ‘स्ट्याचु’ खरिद गर्ने पैसा जिल्लाबाट बाहिर कम जानेछ भने महिलाहरु ब्यवशायिक रुपमा काम गर्न सक्षम हुनेछन् । साथै गोरखामै बनेको भनेपछि त्यसको महत्व र अपनत्व पनि बढि छ । जिल्ला भित्रकै उत्पादन प्रयोगलाई बढवा दिँदै सिप सिकेका महिलाहरुलाई ब्यवशायीक बनाउनमा सबै पक्षले सहयोग गरेको खण्डमा यसले गोरखालाई थप फाईदा पुग्ने देखिन्छ । पुराना ऐतिहासिक धार्मिक सम्पदाको संरक्षण, प्रर्वद्धन सँगै त्यसबाट फाईदा लिन हामीले सक्नुपर्छ ।
नयाँ सिप सिकेर ब्यवशायीक बन्ने चाहना राखेका महिलाहरुको योजनामा उद्योग ब्यवशायी, स्थानीय सरकार लगायत संम्वद्ध संघ संस्थाले सहयोग गर्नुपर्छ । यसले महिलाहरुलाई सक्षम, आत्मनिर्भर त बनाउने छ नै जिल्लाको प्रचार प्रसार र दिगो पर्यटन बिकासमा पनि फाईदा पुग्नेछ ।




