| सोमवार, कार्तिक २३, २०८३

कहिले सहज हुने दुर्गमका विद्यार्थीलाई एसईई !

पहिले एसएलसी परीक्षा दिन सदरमुकाम सम्म विद्यार्थी धाउनुपर्ने बाध्यता थियो । बिस्तारै तत्कालिन गाविस भित्रकै विद्यालयमा परीक्षा केन्द्र तोकिन थाल्यो । एसईई सुरु भएपछि त झनै विद्यार्थीलाई सजिलो हुने गरी केन्द्र निर्धारण भए । होम सेन्टर नभएपनि छिमेकी विद्यालयमा परीक्षा दिन पाउने, केही घण्टा हिँडेर परीक्षा दिन सकिने अवस्थामा विद्यार्थीलाई पहिले भन्दा तुलनात्मक रुपमा सजह हुँदै गयो ।
गोरखाको दुर्गमका विद्यार्थीलाई भने एसईई दिन अझै चार दिन पैदल हिँड्नुपर्ने दुःख छ । चुमनुब्री गाउँपालिका भित्र परीक्षा केन्द्र नहुँदा ल्हो मावि स्यालाका विद्यार्थी आरुघाट झर्नुपर्ने बाध्यता छ । गाउँपालिकामा एसईई परीक्षाकेन्द्र नहुँदा दुर्गम गाउँका विद्यार्थीले समस्या खेप्नु परेको हो । चुमनुब्रीको अर्को वुद्ध माविका ६१ जना विद्यार्थी पनि एसईई परीक्षा दिन दुई दिनको बाटो हिँडेर बुधबार माछाखोलाको जनजागृति मावि परीक्षा केन्द्रमा आइपुगेका छन् ।

परीक्षा दिन आउँदा, जाँदा विद्यार्थीले निकै कष्ट भोग्नुपर्ने बाध्यता दुर्गममा हिजो जस्तै अहिले पनि छ । छोराछोरीलाई एसईई परीक्षा दिन चार दिनको बाटो टाढा पठाउनु पर्दा खर्च पनि धेरै लाग्ने गरेको अविभाबकको गुनासो छ । एक जनाको १५ हजार भन्दाबढि खर्च हुन्छ । परीक्षा केन्द्र वरपर डेरा पाउन मुस्किल हुनु, बजार क्षेत्रमा खर्च धेरै लाग्नु, फरक पालिकाको विद्यालय गएर परीक्षा दिँदा मनमा डर हुनु जस्ता समस्या विद्यार्थीलाई आईपर्न सक्छ ।

शिक्षकहरु पनि पालिकाको केन्द्रमा कम्तीमा एउटा परीक्षा केन्द्र हुनुपर्ने बताउँछन् । गाउँपालिका, विद्यालयहरुले पनि यसमा आवाज उठाउनुपर्छ । दुर्गम ठाउँ भएर हो वा परीक्षार्थीलाई भन्दा परीक्षा सञ्चालन गर्नेको सजिलोका लागि हो चुमनुब्रीमा एसईई केन्द्र तय गरिएन । दुर्गम ठाउँमा सेवा दिन झन्झट वा दुःख मान्ने हो भने राज्यले निशुल्क र सर्वसुलभ गरेको शिक्षा महँगो मात्र होईन अब्यवाहारिक पनि बन्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्