| मङ्लबार, कार्तिक २४, २०८३

पाहुनालाई उपहार गोरखामै बनेको पृथ्वीनारायण शाहको ‘स्ट्याचु’

नेपाल एकिकरण थालनी गर्ने पृथ्वीनारायण शाहको इतिहासको जर्गेना गर्न गोरखामा महिला उद्यमीहरु लागिपरेका छन् । पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाएर गोरखा आउने पाहुनालाई उपहारको रुपमा बिक्री गर्ने योजनामा महिलाहरुले तालिम लिएका छन् ।

महिला उद्यमी संघ नेपाल गोरखाले १० जना महिलाहरुलाई तालिम दिएर पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ बनाउने सिप सिकाएको छ । ‘गोरखाबासी भएर नेपाल एकिकरण गर्ने पृथ्वीनारायण शाहको मूर्ती बनाउन सिक्यौँ’ प्रशिक्षार्थी गिता देवकोटाले भनिन् ‘अझै थप सिप भयो भने झनै राम्रो र ब्यवशायीक रुपमा काम गर्न सकिन्थ्यो ।’ सिप सिकेपछि ब्यवशायीक रुपमा काम गर्ने चाहना बढेको उनले बताईन । उनी जस्तै तालिम लिएका सबै महिलाहरु सिप सिकेपछि उत्साहित छन् ।

‘विर पुरुषको सम्मान स्वरुप धेरैले कोसेलीको रुपमा स्ट्याचु’ लैजानुहुन्छ, खोज्नुहुन्छ भन्ने सोचले बनाउन सुरु गरेका हौँ, तालिम दिएका हौँ’ महिला उद्यमी संघ नेपालकी अध्यक्ष रिता रेग्मीले भने । गोरखामा पाहुनाले लैजाने वा बिभिन्न कार्यक्रमका आएका अतिथीलाई उपहारस्वरुप दिईने पृथ्वीनारायण शाहको ‘स्ट्याचु’ अन्यत्रबाट आयातित छ । यहाँका ब्यापारी ब्यवशायीले अन्यत्रबाट ल्याएर बिक्री गर्ने गरेका छन् । ‘अब हामीले यहाँ नै उत्पादन गरेपछि अन्यत्रबाट ल्याउनुपर्दैन’ उनले भनिन् ।

गोरखा नगरपालिकाको सहयोगमा भएको उक्त तालिमको बिहिवार समापनका क्रममा मेयर राजनराज पन्तले तालिमबाट सिकेको सिपलाई निरन्तर काम गर्दै अझै राम्रो ‘स्ट्याचु’ बनाउन सक्ने हुन सुझाब दिए । साथै उनले गोरखालाई चिनाउने पृथ्वीनारायण शाहको सम्मान सँगै महिलाहरुको आम्दानीको स्रोतको रुपमा पनि तालिमलाई लिनुपर्ने बताए । ‘महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीहरुको ब्राण्डिङ गरेर जिल्लालाई चिनाउन, ब्यापार प्रर्वद्धन गर्न ध्यान दिनुपर्छ’ मेयर पन्तले भने ‘यसका लागि सहयोग गर्न हामी तयार छौँ ।’

गोरखा नगरपालिका ६ का वडा अध्यक्ष नारायणप्रसाद अर्याललले पृथ्वीनारायण शाह जस्तै गोरखाको इतिहास राम शाह, बिसे नगर्ची, गोरखानथको पनि स्ट्याचु बनाएर पाहुनाको रोजाई अनुसार बिक्री गर्न सक्नुपर्ने बताए । यसले थप ब्यवशयीक बन्न प्रेरित गर्ने उनले बताए । उद्योग बाणिज्य संघले पनि महिला उद्यमीहरुलाई ब्यवशायीक बनाउन, उत्पादित सामग्रीको बजारिकरणका लागि सहयोग गर्ने अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

महिला उद्यमी बिकास समिति अध्यक्ष शुसिला श्रेष्ठले महिलाहरुलाई सिपले थप ब्यवशायीक बनाउँदै लैजाने बताईन । ‘हामीले सिपलाई निरन्तर प्रयोग गर्न सक्नुपर्छ’ उनले भनिन् । कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले महिला उद्यमीहरुले बिक्री कक्ष राखेर आफुले उत्पादन गरेको सामग्री प्रदर्शनपनि गर्दा राम्रो हुने बताए । सहभागीलाई महिला उद्यमी संघ नेपालकी कोषाध्यक्ष सारदा खत्रीले प्रशिक्षण दिएकी हुन् । महिला उद्यमी संघ नेपाल गोरखाले यस अघि पनि ढाका टोपी, पछ्यौरा, खादा, बुन्ने तालिम दिँदै आएको सचिव सिर्जना पाण्डेले बताईन ।

प्रतिक्रिया दिनुहोस्