| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गठबन्धन नटुङ्गिँदा दुर्गमका उम्मेदवार अन्यौलमा

गोरखामा सत्ता गठबन्धन भित्रका चार दल बिच चुनावी तालमेल नटुङ्गिँदा चुमनुब्री गाउँपालिकाका उम्मेदवार अन्यौलमा परेका छन् ।
कांग्रेस, माओवादी, जनता समाजवादी र एकिकृत समाजवादी बिच गठबन्धन हुँदा कुन वडा कसको भागमा पर्ने भन्ने यकिन भएको छैन । ११ वटा नगर र गाउँपालिकामा सहमती जुटाउन नसकेका गठबन्धनका दलहरुले छिट्टै वडा टुङ्ग्याउने संभावना देखिँदैन ।

चुमनुब्री गाउँपालिको वडा नम्बर १ सामागाउँ, २ ल्होबाट गाउँपालिकाको केन्द्र वा निर्वाचन अधिकृतको कार्यालयमा आउन दुई÷तीन दिन लाग्छ । वडा नम्बर ४, बिही, ७ छेकम्पारबाट पनि एक दिन भन्दाबढि लाग्छ । बैशाख ११ र १२ गते मनोनय दर्ता गर्न निर्वाचन आयोगले समय तोकेको छ । ‘अहिले सम्म कुन पार्टीबाट कसले वडा अध्यक्ष, सदस्यहरुमा उम्मेदवारी दिने भन्ने यकिन नहुँदा यहाँ अलमल भएको छ’ स्थानीय बिरबल घलेले भने ।

गठबन्धन हुँदा कुन वडामा अध्यक्ष सदस्य कुन दलको हुने भन्ने पनि यकिन हुन सकेको छैन । गठबन्धन नभएको खण्डमा फरक–फरक पार्टीबाट उम्मेदवारी दिनुपर्ने भएकाले को–को उम्मेदवारी दिन र प्रस्ताबक, समर्थकका लागि निर्वाचन अधिकृतको कार्यालयमा जाने भन्नेमा स्थानीयलाई अन्यौल भएको छ ।

केही संभावित उम्मेदवारले भने प्रस्ताब समर्थक ल्याएर निर्वाचन अधिकृतको कार्यालय नजिकै चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा होटलमा राखेका छन् । ‘केही दुईतीन दिन अघिदेखि आएर होटलमा बसेका छन’ उनले भने ‘केहीलाईं गठबन्धन भयो भने जाने कि नजाने भन्ने पनि अन्यौल छ ।’ सबै पार्टीबाट संभावित उम्मेदवारलाई यस्तो समस्या भएको उनले बताए ।

गठबन्धन दलले सहमती नहुने घोषणा गर्ने हो भने सोही अनुसार उम्मेदवारले प्रस्ताबक समर्थक लिएर नोमिनेशनको तयारी गर्ने थिए । गठबन्धनका विषयमा टुङ्गो नलाग्दा दुर्गममा कार्यकर्ताले दुःख पाएका छन् भने अन्यौल पनि बढेको छ । गठबन्धन भित्र पनि दलहरु बिच भावगण्डाको विषय पेचिलो भएकाले सहमतीको संभावना कमजोर हुँदै गएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्