
बाबुरामको रिसले जिल्लामा बजेट नपठाइएको हो ?
मंगलबार खेलकुद मैदान हरमटारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने, ‘मेरो रीसले गर्दा बिगत तीनबर्षमा नेकपाको सरकारले गोरखाको ठूलो योजनामा बजेट बिनियोजन गरेन । कुनै पनि ठूलो योजना पनि पारेन । नपत्याएर रातो किताव हेर्नू ।’
उनले आफूले जिल्लाको दुईवटै क्षेत्रको विकासका लागि विभिन्न योजना पेश गरेको, मन्त्रालयबाट पनि फर्वाड भएको तर प्रधानमन्त्री कार्यालय पुगेपछि गायब हुने गरेको घटना पनि सुनाए ।
सुन्दा लाग्यो, नेताका भाषण, त्यसमाथि पनि चुनावको बेलाको । तर तीनबर्षको बजेट तथा कार्यक्रम हेर्दा यसमा सत्यता छ पनि । बिगत तीनबर्ष यता नेपाल सरकारले गोरखाका ठूलो योजनालाई गति दिन दिएन । नेपाली सेनाले निर्माण गरेको लार्के सडकका लागि सालिन्दा जम्मा पाँच करोड बजेट बिनियोजन ग¥यो । बूढीगण्डकी जलविद्युत आयोजना तुहिने अबस्थामा पु¥यायो ।
पन्थडिही कटहरे हर्मी सडक कालोपत्रे गर्ने कार्यक्रम पनि एक पाइला अघि बढ्न सकेन बरु उल्टै एक्जिम बैँक अफ इण्डियाको ऋण लगानीमा बन्न लागेको सो योजना असफल भयो । अब नेपाल सरकारले नै बनाउला भन्ने आशा राखौँ । बारपाक सडक कालोपत्रे गर्ने कामले पनि आशालाग्दो प्रगति गरेन । नयाँ योजना त झन कुनै पनि परेको देखिएन ।
नेपालीमा एउटा उखान प्रचलित छ, ‘सौताको रिसले पोइको काखमा मुत्नु’ । जिल्ला कसैको पेवा होइन, त्यसैले कुनै नेतासित रिस उठेको छ भन्दैमा उ जन्मेको जिल्लाको विकासमा नकारात्मक असर पर्ने गरी काम गर्नु हुँदैन । नेतासित रिस उठ्दैमा जनतालाई रिस पोख्नु हुदैन, जिल्लालाई घात पर्ने गरी काम गर्नुहुदैन ।




