
चार दिन हिँडेर परीक्षाकेन्द्र
शिव उप्रेती
ल्हो मावि स्यालाका १३ जना विद्यार्थी एसईई दिनका लागि चार दिन पैदल हिँडेर भीमोदय मावि आरुघाट परीक्षाकेन्द्र आइपुगेका छन् । आफ्नो चुमनुब्री गाउँपालिकामा परीक्षा केन्द्र नभएकाले धार्चे गाउँपालिका पार गरी उनीहरु आरुघाट गाउँपालिका आइपुगेका हुन् ।
सो प्रस्तावित माविबाट एसईई परीक्षा दिने उनीहरु पहिलो उत्पादन हुन् । उनीहरुलाई प्रधानाध्यापक सञ्जय ढकालले सहजीकरण, समन्वय र सहयोग गरिरहेका छन् ।
३४०० मिटर उचाइमा रहेको ल्हो, ल्ही, हिनाङ, स्यो र स्याला गाउँका विद्यार्थी ५८५ मिटर उचाइको आरुघाटमा आउँदा गर्मी मात्र अनुभूति गरिरहेका छैनन्, ज्यानभरि डाबर आएर हैरान पारेको प्रअ ढकाल बताउँछन् । ‘चिसो ठाउँबाट आएर तातो हावापानी सामना गरिरहनु परेको छ । कतिपय विद्यार्थीको शरीरभरि बिबिराहरु आएर हैरान पारेको छ’, उनले भने, ‘यसै पनि रोङ्वाहरुको नौलो ठाउँ, नौलो वातावरण, भाषा, भेषभुषा, रहनसहन नौलो हुनाले समस्या भइरहेको छ, त्यसमाथि पनि गाउँमा प्रहरी नदेखेका उनीहरु यहाँ गेटमा प्रहरीले चेकिङ गर्छ भनेर मानसिक तनाबमा छन् ।’
हिमाली भेगको सुन्दर, शान्त ठाउँमा बसेका उनीहरुलाई आरुघाट, आर्खेत बजारको कोलाहलपूर्ण वातावरणले पनि असहज बनाइरहेको छ । गाउँपालिकामा एसईई परीक्षाकेन्द्र नहुँदा दुर्गम गाउँका विद्यार्थीले समस्या खेप्नु परेको चुमनुब्री गाउँपालिका २ ल्होका वडाअध्यक्ष पेम्बारेता लामा बताउँछन् । ‘बाआमाको आर्थिक स्रोत हुँदैन । छोराछोरीलाई एसईई परीक्षा दिन चार दिनको बाटो टाढा पठाउनु पर्दा कति दुख हुन्छ, कल्पना गर्न सकिँदैन’, उनी भन्छन्, ‘चुमनुब्रीमा दुईवटा मावि छन् । एकठाउँमा परीक्षाकेन्द्र भइदिएको भए धेरै राहत हुनेथियो ।’
चुमनुब्री गाउँपालिकामा एउटा परीक्षा केन्द्रको खाँचो भएको उनको भनाइ छ । ‘हुन त वुद्ध मावि पुग्न पनि हाम्रो गाउँबाट दुई दिन हिँड्नु पर्छ । तैपनि आफ्नो पालिका भनेपछि विद्यार्थीहरुको आत्मबल बढ्थ्यो । आफ्नै ठाउँ हो भनेपछि आत्तिँदैनथे’, उनले भने ।
चुमनुब्रीको अर्को वुद्ध माविका ६१ जना विद्यार्थी पनि एसईई परीक्षा दिन दुई दिनको बाटो हिँडेर बुधबार माछाखोलाको जनजागृति मावि परीक्षा केन्द्रमा आइपुगेका छन् । ‘साँझ अबेर आइपुगियो लखतरान भएका छौँ’, प्रधानाध्यापक प्रकास घिमिरे भन्छन्, ‘माछाखोलाको सानो बजार, विभिन्न विद्यालयबाट एसईई दिन आएका दुईसय ८१ जना विद्यार्थीले डेरा खोज्नुपर्छ । डेरा पाउन पनि मुस्किल छ ।’ एसईई दिनका लागि चारदिनको बाटो खर्च, डेराभाडा, खानबस्त गरी प्रतिविद्यार्थी कम्तिमा १५ हजार रुपैयाँसम्म खर्च हुने उनले बताए । ‘यदि पालिकाभित्रै परीक्षाकेन्द्र भइदिएको भए दुर्गमका विद्यार्थीलाई राहत हुने थियो’, प्रअ घिमिरेले भने ।
गोरखाको २५ वटा विद्यालयमा एसईईको परीक्षाकेन्द्र निर्धारण गरिएको छ । केन्द्र टाढा भएका कारण एकदुई विद्यालयकाबाहेक सबैजसो विद्यालयका परीक्षार्थीहरु डेरा गरेर बस्न बाध्य छन् ।
जुन विद्यालयमा केन्द्र निर्धारण गरिएको छ सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । कुनै पनि विद्यालयमा होम सेन्टर नबनाइएको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत रामबहादुर अधिकारी बताउँछन् ।
धार्चेको माछाखोलामा रहेको जनजागृति मावि परीक्षा केन्द्रमा धार्चे गाउँपालिकाका सात र चुमनुब्री गाउँपालिकाका एक गरी आठ वटा विद्यालयका दुईसय ८१ जना परीक्षार्थीहरुले परीक्षा दिन्छन् । उनीहरु सबैले डेरा गरेर बस्नुपर्ने बाध्यता छ ।
आरुघाटको भीमोदय मावि परीक्षाकेन्द्रमा १४ माविका तीनसय ३१ जना परीक्षार्थीहरु परीक्षा दिँदैछन् । उनीहरु सबैजना डेरा गरेर बस्नु पर्ने बाध्यता रहेको छ ।
त्यस्तै सूर्यज्योती मावि ताकुकोट, महेन्द्रलिला मावि हर्मी, संस्कृत मावि तान्द्रङ, हिमालय मावि सिम्जुङ, भगवती हिमालय मावि घैरुङमा पनि परीक्षा केन्द्र तोकिएको छ ।
दुल्लभ मावि घ्याम्पेशाल, भवानी मावि ठाँटीपोखरी, अमरज्योती जनता मावि लुईटेल, परोपकार आदर्श मावि जौवारी, ताङ्लिचोक मावि ताङ्लिचोक, शहीद स्मृति मावि बुङकोट, सरस्वती मावि बोर्लाङ, मनकामना मावि मनकामना, विन्ध्याबासिनी मावि नारेश्वरमा पनि एसईईको परीक्षाकेन्द्र तोकिएको शिक्षा बिकास तथा समन्वय इकाईका शाखा अधिकृत अधिकारीले बताए ।
महेन्द्र मावि कुन्दुर, रत्नराज्य मावि विरिन्चोक, सरस्वती मावि आहाले, शक्ति मावि पाटेचौर, महालक्ष्मी मावि लक्ष्मीबजार, ज्ञानमार्ग मावि घ्याल्चोक, महेन्द्रज्योति मावि पोखरीथोक, नवज्योति मावि डण्डीडाँडा र हिमालय मावि सौरपानीमा पनि एसईईको केन्द्र तोकिएको छ ।
प्राविधिक विषयका विद्यार्थीका लागि सरस्वती मावि आहालेमा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि (एक्जाम्टेड) को परीक्षा दिने विद्यार्थीले पनि यस आफु अध्ययन गरेको विद्यालयका नियमित तर्फका विद्यार्थीका लागि तोकिएको केन्द्रमै परीक्षा दिन पाउने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।




