
गोरखाका ७० मतदानस्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले गोरखाका ७० मतदानस्थललाई अतिसंवेदनशील ठहर गरेको छ । भौगोलिक अवस्थिति, यसअघिको निर्वाचनमा भएका गतिविधि तथा निकटत्तम प्रतिद्वन्द्वी उम्मेद्वार बीचको प्रतिस्पर्धा लगायत विविध बिषयका आधारमा समितिले ती मतदानस्थललाई अति संवेदनशील ठहर गरेको हो ।
गोरखामा २१५ वटा मतदानस्थल तथा ३३५ वटा मतदानकेन्द्र छन् । तीमध्य सुरक्षा समितिले १३५ मतदानस्थललाई सुरक्षा संवेदशील ठहर गरेको छ । जिल्लाका १० वटा मतदानकेन्द्रलाई मात्र सामान्यको कोटीमा राखेको जनाएको छ ।
मतदानस्थलको सुरक्षास्थितिलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । ‘सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी मतदान स्थलमा सबै सुरक्षा निकायलाई घनिभूत ढंगले परिचालन गरेका छौँ’, प्रजिअ आचार्यले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाल सरकारको निर्णयअनुसार नेपाली सेना पनि सुरक्षामा खटिएका छन् ।’
हरेक गाउँ तथा नगरपालिकामा यसअघि नै प्रहरी चौकी स्थापना भइसकेका छन् । पालिकास्तरमा स्थापना भएका निर्वाचन कार्यालयको सुरक्षाका लागि पनि सशस्त्र प्रहरीको टोली पठाइसकिएको प्रजिअ आचार्यले बताए । ‘अब मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतको टोलीसंगै थप सुरक्षा टोली पनि पठाउनेछौँ’, प्रजिअ आचार्यले भने, ‘सुरक्षा व्यवस्था चुस्त बनाउन कुनै कसर बाँकी नराखी काम गर्नेछौँ ।’




