पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने निर्वाचन प्रणाली आवश्यक छ : जसपा अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने निर्वाचन प्रणाली नेपालमा आवश्यक रहेको बताएका छन् । जनता समाजवादी पार्टीले मंगलवार गोरखामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले भने ‘जनताको प्रतिनिधिले राँगा, सुँगुर काट्ने, भट्टी रित्याउने गरेर चुनाव हुन्छ ?’ अहिलेको निर्वाचन प्रणाली खिचडी प्रणाली भएको उनले बताए । नेपाल जस्तो गरिब मुलुकमा संसारकै महँगो चुनाव हुँदै गएको प्रति उनले चिन्ता ब्यक्त गरे ।
संविधान संशोधन गरेर यो प्रणालीलाई सुधार गर्नुपर्नेमा उनको जोड थियो । न्याय प्रणाली पनि अत्यन्तै महँगो भएको भन्दै अध्यक्ष यादबले भने ‘गरिव जनतालाई न्यायको पहुँचबाट टाढा राखिएको छ, न्याय किन्ने बस्तु त होईन नि ।’
संघियतालाई अधिकार बिहिन बनाईएको, सबै अधिकार केन्द्रमा निहित गरिएको बताउँदै उनले संघियताको महशुस जनताले गर्न नपाएको बताए । निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उनले प्रत्यक्ष निर्वाचित राष्टूपतीको शासन ब्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिए ।
अर्थतन्त्र नबुझेको मन्त्री हुँदा अर्थ ब्यवस्था ध्वस्त भएको बताउँदै उनले शिक्षा, न्यायको क्षेत्रमा पनि त्यस्तै हुँदै आएको टिप्पणी गरे । सांसदको खरिद बिक्री हुने गरेको प्रशंग जोड्दै यादबले जसले सांसद किन्न सक्यो उसले सरकार बनाउने परिपाटी बदल्न संविधान संशोधन गर्नुपर्ने जिकिर गरे ।




