| सोमवार, कार्तिक २३, २०८३

चुनावी रौनक छैन

बिगतको चुनाव सम्झने हो भने यतिबेला उम्मेद्वार चयन भइसक्थे । घोषणापत्र तथा अन्य निर्वाचन सामग्री लिएर उम्मेद्वारसहित नेता कार्यकर्ता गाउँघर पुगिसकेका हुन्थे । गाउँ तथा नगरका केन्द्रहरुमा आमसभा तथा कोणसभा भइरहेका हुन्थे ।

एकपछि अर्को पार्टी आफ्ना चुनावी नारा लिएर मतदातालाई फकाउन, सम्झाउन, बुझाउन घरदैलोमा मस्त हुन्थे, व्यस्त हुन्थे । गाउँ, टोल विकासका नयाँनयाँ योजना, अवधारणाहरु मतदाता सामु प्रस्तुत हुन्थे । बिगतमा जे जस्ता कमी कमजोरी भएका भए पनि अबका दिनमा सच्चिएर जाने अठोट जनतासामु गरिरहेका हुन्थे ।

डाँडापाखामा राजनीतिक भाषण छाँट्दै माइक घन्किरहेका हुन्थे । जिल्ला तहका, केन्द्र तहका, प्रदेश तहका नेताहरु जिल्लामा आउने, जाने क्रम बढिरहेको हुन्थ्यो । आर्थिक, सामाजिक क्रान्ति गर्ने, मुलुकलाई विकास र संवृद्धितिर लैजाने, नयाँ नेपाल निर्माण गर्ने जस्ता मीठा आश्वासन बाँडिरहेका हुन्थे । कच्ची बाटोमा नेता, कार्यकर्ताका गाडी, बाइक घ्वार्रघ्वार्र र घुरघुर कुदिरहेका हुन्थे ।

तर अहिले सुनसान छ । यदाकदा एकाध नेता, कार्यकर्ता चुनावी अभियान भन्दै फाट्टफुट्ट गाउँघरतिर देखिएका छन् । उनीहरुले जनतासामु बाँड्ने कुनै एजेण्डा छैन किनभने सो पालिका उनको पार्टीको हातमा पर्छ कि फरक पार्टीको हातमा पर्छ यकिन छैन । त्यसैले यदाकदा घरदैलोमा पुगेका नेताकार्यकर्तामा पनि मतदाता मनाउने कुनै जोश, जाँगर छैन । छ त केवल औपचारिकता ।

केन्द्र तहमा गठबन्धन निश्चित भएको छैन । जिल्ला तहमा पनि त्यस्तै छ । दुईदिन, तीन दिन बिराएर बल्लतल्ल बैठक बस्छ । बैठकमा ठूला पार्टीका नेताहरुले फेरि पनि पुरानै अंक ओकल्छन् । अस्वीकारका पुरानै शव्द दोहो¥याउँछन् । अनि पुन स्थगित हुन्छ । यहि घटनाक्रम दोहोरिरहेको छ ।

उम्मेद्वारी मनोनयन गर्ने दिन बैशाख ११ गते आउन धेरै दिन बाँकी छैन, तर सत्ता गठबन्धन दलहरु बीच चुनावी गठबन्धन गर्ने नगर्ने निश्चत छैन, त्यसैले कुनै चुनावी रौनक छैन ।

प्रतिक्रिया दिनुहोस्