
जँघार पनि तर्न खोज्ने, खुट्टा पनि कमाउने ?
यो चुनावमा राजनीतिक नदीका नदीका दुई किनारलाई जोड्न खोज्ने प्रयास गरिँदैछ । राजनीतिक सिद्धान्त नमिल्ने, गन्तव्य पनि नमिल्ने कांग्रेस र माओवादी जुन स्वार्थवस् मिल्ने प्रयास गर्दैछन्, त्यही स्वार्थबश भाँडिने बाटोमा छन् ।
एक्ला एक्लै चुनावमा गएर आफ्नो आकार, साइज निश्चित गर्न डराएर बर्तमान सत्ता गठबन्धन दलले मिलेर जाने निर्णय गरे । तर अन्धधुन्ध अँध्यारोमा मिलन विन्दू पहिल्याउन नसकेर भौँतारिरहेको देखिन्छ ।
बिगत चुनावदेखि अहिलेसम्म अहोरात्र खटिएर आ(आफ्नो संगठन विस्तार गरेका गोरखाका कांग्रेस र माओवादी केन्द्रले सो खटाइको नतिजा कस्तो आउला, भनेर नापजाँच गर्ने बेला भने खुट्टा कमाए ।
जुट्नु बिल्कुल राम्रो हो, फुट्नु नराम्रो हो । मिल्नु अत्यन्त सुखद हो, द्वन्द्व गर्नु दुखद हो । तर चुनावलाई यस अर्थमा लिन मिल्दैन । चुनाव सत्ता हाँक्न नेतृत्व चुन्ने लोकतान्त्रिक पद्धति हो । यसले प्रत्यक्ष रुपमा चुनावले राजनीतिक दलको साइज नाप्छ ।
यी सैद्धान्तिक कुरा छाडेर जब दुई प्रमुख प्रतिद्वन्द्वी पार्टी मिल्ने भनेर तम्सिसकेका छन् भने फेरि ससाना कुरामा छिनाझपटाइ बेअर्थ छ । यसले जँघार तर्न पनि खोज्ने, खुट्टा पनि कमाउने भन्ने नेपाली उखानलाई चरितार्थ खोजेको छ ।
सत्ता गठबन्धन दल बीच चुनावी तालमेल गर्ने, अन्य पार्टीसित नगर्ने भनेर जब निर्देशन आयो, तब मिल्नुको बिकल्प नदेखी सबै दल पालिका भागबण्डामा बहश गर्न थाले । दुईदिन लगालग बैठक बसे, तर दुवै दिनको बैठकमा कुनै प्रगति पनि देखिएन, प्रगतिन्मुख संकेत पनि देखिएन । मिल्ने भनेको ‘गिभ एण्ड टेक’ हो । ‘टेक’ मात्रै गरेर मिल्ने दुश्साहस गर्न खोज्नु शीर्ष नेतृत्वको अपरिपक्वता हो ।




