
बिजनेस : च्याङ्लीमा खुल्यो साँढे चार करोडमा ‘म्याङ्गो गार्डेन रिसोर्ट’ (फोटो फिचर)
गोरखाको च्याङ्लीमा साँढे चार करोड लगानीमा म्याङ्गो गार्डेन रिसोर्ट संचालनमा आएको छ । गोरखाको पालुङटार नगरपालिका ७ नयाँ पुलको कामधेनु गाई फार्म छेउमा २० रोपनी जग्गामा रिसोर्ट संचालनमा आएको हो । नयाँ वर्षको अवसर पारेर २०७९ बैशाख १ गतेबाट रिसोर्टले सेवा सुरु गरेको छ ।

‘हामीले निर्माण सुरु गर्दा कोभिड सुरु भएकाले पूरा गर्न साँढे दुईवर्ष लाग्यो’, संचालक मध्येका एक निशान पाठकले भने ‘कोभिडका कारण समय धेरै लाग्ने खर्च पनि बढ्यो ।’ पृथ्वीराजमार्गको आँबुखैरेनी डुम्रे सडक खण्डको नयाँ पुल तरेपछि गोरखातर्फ रिसोर्ट रहेको छ ।
आँपको बगैँचाभित्र रिसोर्ट तयार गरिएको छ । ३९ वटा आँपको रुखलाई रिसोर्टभित्रै सजाईएको छ । सिजनका बेला रिसोर्टका पाहुनालाई निशुल्क आँप खुवाउने योजना पनि उनीहरुको छ । राजमार्ग छेउमा शान्त र पारिवारिक वातावरण, धुवाँ धुलो नभएकाले रिसोर्ट ग्राहकको रोजाईमा पर्ने अपेक्षा संचालकले लिएका छन् ।

सोही ठाउँमा कामधेनु गाई फार्म संचालन गरेर बसेका राजिबराज पन्त, निसान पाठक, रमेशप्रसाद कँडेल र प्रकाश खनाल मिलेर उक्त रिसोर्ट संचालनमा ल्याएका हुन् । फरक फरक पेशा ब्यवशाय गर्दै आएका उनीहरु मिलेर होटल ब्यवशाय सुरु गर्ने योजना तीनवर्ष अघि बनेको संचालक सदस्य पाठक बताउँछन् ।

होटलमा १० वटा रुम छन् । दुईवटा छुट्टै घरसहितको रुम छ भने आठ वटा रुममा एसी सहितका सुविधा छन् । रिसोर्टभित्र कटेजहरु रहेका संचालक प्रकाश खनाल बताउँछन् । ग्राहकले आँपको रुखको छहारीमा बसेर हरियाली वातावरणमा बिभिन्न परिकार खान पाउँछन् । राजमार्गमा यात्रा गर्ने यात्रु, पर्यटक र बिभिन्न तालिम गोष्ठी, सेमिनार गर्नेहरुलाइ लक्षित गरेर उक्त रिसोर्ट संचालनमा ल्याइएको संचालक समिति अध्यक्ष राजिवराज पन्तले बताए । रिसोर्टभित्र ८० जना अट्ने क्षमताको हल पनि छ । गोष्ठी, सेमिनार, बैठकका लागि हल उपयुक्त छ ।

‘कोलाहाल वातावरणमा मुक्त हुन, पारिवारिक जमघट र बिदाको सदुपयोग गर्न पनि यो रिसोर्ट उपयुक्त छ’, अध्यक्ष पन्तले भने । रिसोर्टमा स्विमीङ पुल बन्दैछ । बाल उद्यानका सामग्री पनि राख्ने तयारी छ । बालवालिका खेल्ने, भुल्ने ठाउँको रुपमा पनि विकास गर्ने उनले बताए । पिङ पनि राख्ने तयारी छ । रिसोर्टभित्र कलात्मक ढुङ्गो धारामा पानी झरिरहेको, पानीको फोहोरा घुमिरहेको, आँपको रुखलाई चौतारोको रुपमा सिङ्गारिएको दृष्य निकै लोभलाग्दो छ । राजमार्ग छेउबाट झट्ट देख्दा भन्दा रिसोर्टभित्र गएर हेर्दा गार्डेनका पूmल र सजावटले ग्राहकको मन लोभ्याउँछ ।

२० रोपनी जग्गा लिजमा लिएर च्याङ्ली म्याङ्गो फरेस्ट रिसोर्ट संचालनमा ल्याएको संचालकहरु बताउँछन् । २० वर्षका लागि उक्त जग्गा लिजमा लिइएको छ । रिसोर्टको जग्गा धेरै रहेकाले रुम, अन्य आकर्षणका केन्द्र थप गर्न सकिने संचालक निशान पाठक बताउँछन् ।
ग्राहकलाई अर्गानिक खाना खुवाउने र स्थानीय उत्पादनमा जोड दिने अध्यक्ष पन्तले बताए । खसी, कुखुराको मासु, मस्र्याङ्दीको माछा, साग, सब्जी, दुध, दही पनिर, घ्यूका परिकार स्थानीय स्तरमा उत्पादित प्रयोग गर्ने उनले बताए । ‘अहिले हामी नजिकै गाउँबाट खरिद गर्छौँ, बिस्तारै सागसब्जीहरु आफैँ लगाउने, कुखुरा पाल्न लगाएर किसानसँग किन्ने योजनामा छौँ’, अध्यक्ष पन्तले भने ।

रिसोर्टले आसपासका राजमार्गको होटल भन्दा आफ्नो रिसोर्टमा मूल्य पनि सस्तो रहेको दावी गरेको छ । स्थानीय उत्पादन ल्याएर ग्राहकलाई सहुलियतमा दिने संचालक सदस्य निशान पाठकले बताए । ‘हाम्रो जस्तै अन्य रिसोर्टको मेनु भन्दा हाम्रोमा ३० प्रतिशतसम्म कम मूल्य छ’, उनले भने । दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मका कोठा रिसोर्टमा उपलब्ध छ । रिसोर्टको मुख्य आकर्षक रमाईलो शान्त वातावरण, स्विमङ पुल र लोकल अर्गानिक परिकार हो ।

हल सहितको खुल्ला ठाउँ धेरै रहेको, गार्डेनमा खेल्ने, घुम्ने, रमाउने ठाउँ भएकाले बिहे, ब्रतबन्ध, पार्टीका लागि पनि च्याङ्ली म्याङ्गो रिसोर्ट उपयुक्त रहेको संचालक सदस्य रमेश प्रसाद कंडेलले बताए । ठुला होटलमा वर्षौँ काम गरेर आएका दक्ष कुक, वेटर सहित ११ जनाले त्यहाँ रोजगार पाएका छन् । अनुभवी कर्मचारी रहेकाले खाने परिकार पनि स्वादिष्ट छ ।


रिसोर्टले केही समयपछि पर्यटकलाई लक्षित गरेर लिगलिगकोट, मनकामना, गोरखकाली लगायत गोरखाका धार्मिक, पर्यटकीय स्थलमा घुमाउने गरी प्याकेज संचालन गर्ने योजना बनाएको संचालक समितिका अध्यक्ष राजिबराज पन्तले बताए ।





