| मङ्लबार, कार्तिक २४, २०८३

पालुङटारको चुनीघाटमा ओंकार योग आयुर्वेद गुरुकुल भवन शिलान्यास

गोरखाको पालुङटार नगरपालिका वडा नं ७ स्थित चुदीमा ओंकार योग आयुर्वेद गुरुकुल भवन शिलान्यास गरिएको छ ।
शनिबार एक कार्यक्रमका बीच शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र नगरप्रमुख दीपकबाबु कंडेलले संयुक्त रुपमा गुरुकुल भवनको शिलान्यास गरेका हुन् ।

हिन्दुहरुको संस्कार संस्कृतिको संरक्षण गर्न र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले गुरुकुल भवन निर्माण कार्य सुरु गरिएको पालुङटार नगरपालिकाका नगर प्रमुख दीपकबाबु कंडेलले बताए ।सो क्षेत्रलाई योगा सेन्टर स्थापना गर्नुका साथै सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि पनि गुरुकुल भवन निर्माण गर्न लागेको उनले जानकारी दिए ।

गुरुकुल विद्यालय भवन निर्माणका लागि राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ३६ लाख र नगरपालिकाबाट ४ लाख रुपैया विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य विमला खनालले जानकारी दिइन् । चार वटा कोठा रहेको एकतले भवन आगामी असार मसान्तसम्ममा सबै काम सम्पन्न हुने उनले बताइन् । आवासीय सुविधा सहितको गुरुकुल भवन निर्माण गर्न लागिएको उनले जानकारी दिइन् । हिन्दु संस्कृति र कर्मकाण्डका विषयमा अध्यापन गराउन विद्यालय भवन निर्माण गर्न लागेको उनको भनाइ छ ।

यसअघि सुविधा सम्पन्न भवन नहुँदा गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु दुईवर्षसम्म तनहुँको विमलनगरमा कोठा भाडामा लिएर बसेका थिए । चालुवर्ष पालुङटार नगरपालिकाबाट विनियोजित बजेटबाट १० लाखमा अस्थायी प्रकृतिको भवन निर्माण गरिदिएसँगै दुई महिना यता गुरुकुलका विद्यार्थीहरुलाई सोहि अस्थायी भवनमा बस्दै आएका छन् ।

विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका सात जना बटुकहरु छन् । आगामी शैक्षिकसत्रपछि भने विद्यार्थीसंख्या बढ्ने विद्यालयले जनाएको छ ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव यादव कोइराला, पालुङटार नगरपालिकाका नगरप्रमुख दीपकबाबु कंडेल, वडा नं सातका वडा अध्यक्ष बसन्त श्रेष्ठ लगयातका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्