| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा गठबन्धन दल बीच तालमेलको सम्भावना न्यून

गठबन्धन दलका नेताहरुको दम्भका कारण गोरखामा चुनावी तालमेल हुने संभावना न्यून हुँदै गएको छ । पटक–पटक बसेको गठबन्धन बैठकमा सबै दल आ–आफ्ना अडानमा टसकामस नहुँदा गठबन्धनको सम्भावना क्षीण हुँदै गएको हो ।

कांग्रेसले २०७४ को चुनावमा जितेको नौ वटै पालिकामा दावी छाडेको छैन । गठबन्धनका आधारहरुमध्य पहिलो नम्बरमा यसअघि जितेको ठाउँ सोही दललाई दिने भन्ने उल्लेख भएकाले कांग्रेसले दाबी छाडेको छैन । ‘हाम्रो बटमलाइन ९ वटा पालिका हो र त्यो रहिरहन्छ । हाम्रो दाबी गठबन्धनको आधारभूत सर्तअनुसार नै छ’ कांग्रेसका एक नेताले भने ।

माओवादी केन्द्रले आधा÷आधा जसो स्थानीय तह भागवण्डा गर्नुपर्ने अडान राखेको छ । २०७४ को चुनावमा कांग्रेस र माओवादी केन्द्रको मत झण्डैझण्डै उत्तिकै रहेको दावी गर्दैै माओवादी केन्द्रले एउटा नगरपालिका सहित पाँचवटा पालिका दावी गरेको एक नेताले बताए । यो मागबाट माओवादी पनि अहिलेसम्म पछि हटेको छैन ।

जनता समाजवादी पार्टीले एउटा नगरसहित तीनवटा पालिका आफुले पाउनुपर्ने दावी गरेको जिल्ला अध्यक्ष यानप्रसाद भट्टले बताए । राष्ट्रिय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर पालुङ्टार नगरपालिका आफुले पाउनुपर्ने दावी जनता समाजवादी पार्टीको छ । जसपालाई नगरपालिका सहितका पालिका दिन कांग्रेस, माओवादी तयार छैनन् । कांग्रेस र माओवादी केन्द्र मिलेको खण्डमा गोरखाका सबै पालिकामा जित्न सकिने दावी उनीहरुको छ ।

गठबन्धन भित्रकै अर्को दल नेकपा एकिकृत समाजवादीले एउटा पालिका मागेको छ । नेकपा एसको संगठन कमजोर रहेकाले उसलाई मिलाउन सहज नहुने बुझाइमा कांग्रेस माओवादीका नेता छन् । तर जनता समाजवादी पार्टीसँगको छलफल निश्कर्षमा पुगेको छैन । चारवटा पार्टीलाई ११ वटा स्थानीय तह भागवण्डा गर्न मुस्किल परेको छ । स्थानीय तहको प्रमुख पदमा भागवण्डा नमिल्दा गठबन्धनको बैठक अर्थहिन बनेको छ । शुक्रवार बिहान बसेको गठबन्धन बैठक शनिवार बसेन ।

आईतवार गठबन्धनका नेताहरु बैठक बस्ने तयारीमा छन् ।
केन्द्रबाट सहमतिको नयाँ खाका नआएको खण्डमा जिल्लाका नेताहरु आफ्नो अडाामै रहने देखिन्छ । गठबन्धन भित्रका सबै दल एकै ठाउँमा हुने सम्भावना पछिल्लो बैठकपछि कम रहेको सहभागी नेताहरु नै बताउँछन् । गठबन्धन भित्रका सबै दल एकै ठाउँमा रहेनन् भने कांग्रेस र माओवादी मात्रै मिल्दा गठबन्धनमा आँच आउने खतरा पनि छ । यो खतरा टार्न कांग्रेस र माओवादी पनि एक्लाएक्लै प्रतिस्प्रर्धा गर्ने तयारीमा छन् ।

सबै दलले आन्तरिक रुपमा वडा तहदेखि पालिकाका उम्मेदवारको खाका तयार गरिसकेका छन् । गठबन्धन हुन सक्ने झिनो आशा बाँकी रहेकाले गठबन्धन हुँदा र नहुँदाको उम्मेद्वार बनाउने भन्नेमा पनि दलहरुले गृहकार्य गरिरहेका छन् । गठबन्धन भएको खण्डमा सहजै जित्ने आशले ती दलभित्र वडा तहदेखि उम्मेदवार बन्नेको लर्को छ ।

प्रतिक्रिया दिनुहोस्